उज्यालो नेपाल पार्टीले दर्ताका लागि आज निवेदन दिँदै

उज्यालो नेपाल पार्टीले दर्ताका लागि आज निवेदन दिँदै

उज्यालो नेपाल पार्टीले दल दर्ताका लागि मंगलबार निर्वाचन आयोगमा निवेदन दिने भएको छ।

सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारमा ऊर्जा, भौतिक पूर्वाधार र सहरी विकास मन्त्री रहेका कुलमान घिसिङले पार्टी गठनका लागि केही समयदेखि गृहकार्य थालेका थिए। पार्टीको नाम उज्यालो नेपाल रहने र चुनाव चिह्न बिजुलीको चिम राखेर जाने सहमति जुटेसँगै मंगलबार दल दर्ताका लागि निवेदन दिन लागेको एक नेताले बताए।

ती नेताका अनुसार ऊर्जा मन्त्री घिसिङ नवगठित उक्त पार्टीमा हुने छैनन्। एक महिनापछि जोडिने तयारी रहेको ती नेताको दाबी छ।

यो पार्टीको संयोजकमा पूर्वऊर्जा सचिव अनुपकुमार उपाध्याय रहने छन्।

उपाध्यायलाई संयोजक तोकेर ५१ जना केन्द्रीय सदस्यसहित पार्टी दर्ताका लागि निवेदन दिने तयारी भइरहेको छ। 

रास्वपा परित्याग गरेकी निवर्तमान प्रतिनिधिसभा सांसद सुमना श्रेष्ठ पनि यो पार्टीमा सहभागी हुने कुरा अघि बढेको थियो।

कुलमान, सुमना, हामी नेपालका संस्थापक सुदन गुरूङ लगायतले एउटै पार्टी निर्माण गरेर अघि बढ्नेबारे छलफल सुरू गरेका थिए।

लामो छलफलपछि कुलमान र सुमनाले फरक फरक बाटो रोजेका छन्। सुमनाले तत्कालका लागि छुट्टाछुट्टै अघि बढ्ने निर्णय भएको पुष्टि गरिन्।

‘के भयो, कस्तो भयो अहिले भन्नु उपयुक्त हुँदैन,’ सुमनाले भनिन्, ‘तर अहिले हि ह्याज मूभ अहेड। आइ विस हिम अल द बेस्ट। (उहाँ अघि बढिसक्नुभयो। मेरो शुभकामना छ)।’