चुनाव हारेको जिम्मा लिन्छु भन्दै थिए कृष्ण थापा, हृदयघातले ज्यानै गुमाए

चुनाव हारेको जिम्मा लिन्छु भन्दै थिए कृष्ण थापा, हृदयघातले ज्यानै गुमाए

बिहीबार कास्की क्षेत्र नम्बर १ को निर्वाचन समीक्षा बैठक जिल्ला पार्टी कार्यालयमा आयोजना गरिएको थियो । बैठक सकेर सबै बाहिरिएका थिए । जिल्ला सचिव दर्शन लामाका अनुसार बैठक सकिएर थप कुराकानी गरिरहेको क्रममा एमाले कास्कीका इन्चार्ज कृष्ण थापालाई हृदयघात भएको हो ।

के भएको थियो बैठकमा ? 

पार्टी कार्यालयभित्र आयोजित बैठकमा नेता तथा कार्यकर्ताहरूले चुनावको टिकट बाँडफाँड र पार्टीको नतिजालाई लिएर नेतृत्वमाथि प्रश्न उठाइरहेका थिए । विशेष गरी चुनावमा एमाले नेता थापाको गतिविधि र भूमिकाबारे बैठकमा प्रश्नहरू उठेका थिए । सबैको कुरा सुनिसकेपछि नेता थापाले बैठकलाई सम्बोधन गरे ।

उनले अत्यन्तै सन्तुलित रूपमा कार्यकर्ताका प्रश्नको जवाफ दिए । बैठकमा सँगै रहेका प्रत्यक्षदर्शी तथा एमाले नेता टिकाराम पङ्गेनीका अनुसार सम्बोधनका क्रममा थापाले चुनावी नतिजाको सम्पूर्ण नैतिक जिम्मेवारी आफूले लिने घोषणा गरेका थिए ।

‘मलाई पार्टीले टिकट दिएको हो । पछि खोसिएको पनि हो । तर पार्टीले सर्मनाक हार व्यहोर्यो । म उठेका सबै कुराको जवाफ दिन तयार छु,’ थापाको सम्बोधनलाई उद्धृत गर्दै पंगेनीले भने, ‘अहिलेको परिणामप्रति मैले जिम्मा लिनुपर्छ । म पार्टीको साधारण सदस्य समेत नरहने गरी पार्टीले कारबाही गरे पनि भोग्न तयार छु ।’ उनले आफ्नो मन्तव्य सके र सबैलाई धन्यवाद दिए । बैठक औपचारिक रूपमा सकियो ।