हिउँ नपर्दा खेतबारी बाँझो रहेको भन्दै: गरे प्रकृति पूजा,

1. हिउँ नपर्दा खेतबारी बाँझो रहेको भन्दै: गरे प्रकृति पूजा,

यही,यही सिजनको अनुकूल मौसममा समेत हिउँ नपरेपछि मुस्ताङको घरपझोङ गाउँपालिकाका स्थानीय महिलाहरूले सामूहिक प्रकृति पूजा गरेका छन्। हिउँ नपर्दा खेतबारी बाँझो रहेको भन्दै ठिनी गाउँका महिलाले हिउँ र वर्षा होस् भन्ने कामना गर्दै प्रकृति पूजा गरेको ठिनी आमा समूहकी सचिव ममिता थकालीले जानकारी दिइन्। 

घरपझोङ-५ ढुम्बास्थित कुछ्प तेरङ्गा गुम्बाका लामाहरू राखेर ठिनी गाउँका महिलाले धार्मिक परम्पराअनुसार सामूहिक पूजापाठ गरेको सचिव थकालीले उल्लेख गरिन्। ‘यो सिजन खै किन हो हिउँ परेको छैन, हिउँ नपर्दा बाली नाली सबै बिग्रन्छकी भन्ने चिन्ता छ,आमा समूहकी सचिव थकालीले चिन्तित हुँदै थपिन्, ‘हिउँको कामना गर्दै ढुम्बाताल छेउमा हामीले प्रकति पूजा गरेका हौं, तैपनि हिउँ र वर्षा हुने संकेत मिले पनि हिउँ र वर्षा भएको छैन।’

ठिनी गाउँका महिलाहरूले हिउँ पार्न ढुम्बातालमा प्रकृतिको पूजा गरेपछि त्यहाँको जल कुछ्प तेरङ्गा गुम्बामा चढाएर गुम्बामा दर्शन गरेका छन्। ढुम्बाताललाई धार्मिक दृष्टिकोणले महत्वपूर्ण स्थानका रूपमा लिने गरिन्छ। यो स्थानको ताल गुरु पद्यसम्भवसँग जोडिएको छ। तालमा बर्सेनि गुम्बाका लामाहरू पूजाआजा गर्छन्। तालमा नागको थान छ।

दुई साताअघि उपल्लो मुस्ताङ र मुक्तिनाथ क्षेत्रमा आंशिक मात्रै हिउँ प¥यो। त्यो बेला परेको हिउँ नै यस सिजनको पहिलो हिउँ थियो। त्यसबेला उपल्लो मुस्ताङमा आंशिक हिउँ परे पनि मुस्ताङको वारागुङ मुक्तिक्षेत्र-३ छुसाङदेखि तलो क्षेत्रमा भने हिउँ पर्नै सकेन। यहाँका हिमाली लेकमा छिटफुट हिमपात परे पनि त्यस समय बस्ती र खेतीयोग्य क्षेत्रमा हिउँ पर्न सकेन। केही वर्षयता मुस्ताङमा विगतको जस्तो हिउँ परेको छैन। यस वर्ष तल्लो मुस्ताङमा अनुकूल मौसममा समेत हिउँ पर्न सकेन। जलवायु परिवर्तनको असर हिमाली क्षेत्रमा पर्न थालेको छ। 

कुनै बेला कात्तिक महिनामा नै मुस्ताङमा हिउँ पर्न सुरु गथ्र्यो। तर, विगतमा हिउँ पर्ने क्षणहरू कथा जस्तो हुन थालेको छ। अनुकूल हिउँ पर्ने याममा असमान प्रकारको हिमपातले मुस्ताङको कृषि प्रणाली, पर्यटन र यहाँका संस्कृतिमा समेत विस्तारै असरहरू देखिन थालेका छन्। टुकुचेकी ८४ वर्षीया वृद्धा ङ्याङ्चा थकालीले मुस्ताङमा हिउँदयाममा पनि हिउँ पर्न नसक्नु आश्चार्य लागेको बताइन्। 

‘यस्तो कहिल्यै हुने थिएन, २-२ वर्षयता खै हाम्रा पालामा देखेको जस्तो हिउँ पर्न नै सकिरहेको छैन,’ वृद्धा थकालीले थपिन्, ‘खै हिउँ पर्नुपर्ने हो,के कति कारणले परेन, सिजनको बेलामा त हिउँ परिदिए फाइदा नै हुन्थ्यो।’ जारी सिजनमा एक पटक पनि हिउँ नपर्दा मुस्ताङको तीन पालिकामा खेतीयोग्य जमिन बाँझो रहेको छ।