हनी ट्रयाप प्रकरणः निलम्बित प्रहरी इन्स्पेक्टर विनु शाही ५ लाख धरौटीमा रिहा

हनी ट्रयाप प्रकरणः निलम्बित प्रहरी इन्स्पेक्टर विनु शाही ५ लाख धरौटीमा रिहा

काठमाडौं ।  आपराधिक लाभको मुद्दामा मुछिएकी निलम्बित प्रहरी इन्स्पेक्टर विनु शाही ५ लाख धरौटीमा छुटेकी छिन् । आइतबार बयान नसकिएपछि उनलाई जिल्ला प्रहरी परिसर ललितपुरको थुनामा पठाइएको थियो । सोमबार बयान सकिएपछि उनलाई धरौटीमा छाडिएको हो ।

 अब उनी नियमित तारिखमा रहेर थुनाबाहिरै मुद्दाको पुर्पक्ष गर्न पाउनेछिन् । शाहीको प्रहरी निरीक्षक पदको निलम्बन भने कायमै रहनेछ । यही मुद्दामा प्रतिवादी बनाइएका प्रहरी सहायक हबल्दार महेन्द्र हमाल साधारण तारेखमा रिहा भएपछि काममा फर्किएका छन् । यही घटनामा सम्बन्धित दर्शन पोखरेल अहिले पनि फरार सूचीमा छन् । युवती प्रयोग गरेर बलात्कार मुद्दामा फसाउने भन्दै रकम असुलेको घटनामा संलग्न भएको आरोप शाहीलाई लागेको थियो । 

यसअघि यो घटनाको अनुसन्धान जिल्ला प्रहरी परिसर ललितपुरले गरेको थियो । अनुसन्धानका क्रममा उक्त घटनामा एसपी कमल थापाको समेत संलग्नता देखिएको भन्दै थप अनुसन्धान गर्ने जिम्मा सीआईबीलाई दिइएको थियो ।

शाहीसँग हनी ट्रयापमा पीडित व्यवसायी र प्रतिवादी सुष्मा विकबीच गत साउनदेखि नै चिनजान रहेको देखिएको थियो । सुष्मा मोरङको एक होटलमा काम गर्थिन् । त्यसपछि उनीहरू नजिकिएका थिए । सुष्मा र पीडित व्यवसायीबीचको सम्बन्ध थाहा पाएपछि ताज मूल भन्ने तजम्मुल इस्लामको समूहले सुष्मालाई प्रयोग गरेर रकम असुलेको आरोप छ ।