अनलाइनमा मतदाता नामावली दर्ता गर्न असहज भएपछि प्रधानमन्त्री कार्कीको तीन बुँदे निर्देशन
अनलाइनमा मतदाता नामावली दर्ता गर्न असहज भएको भन्ने गुनासो आएपछि प्रधानमन्त्री सुशीला कार्कीले चासो देखाएकी छन्।
आगामी फागुन २१ गते प्रतिनिधि सभा निर्वाचनको मिति तोकिएको छ। त्यसमा भोट हाल्ने नयाँ मतदाताले आगामी कात्तिक ३० गतेभित्र नामावली दर्ता गराइसक्नुपर्ने छ।
तर निर्वाचन आयोगको अनलाइन प्रविष्टिमा समस्या देखिएपछि प्रधानमन्त्री कार्कीले चासो देखाएर निर्वाचन आयोगलाई सहजीकरणका लागि निर्देशन दिएको उनका प्रेस संयोजक राम रावलले जानकारी दिए।
‘२१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि मतदाता नामावलीमा नाम दर्ता गर्ने अन्तिम मिति २०८२ कात्तिक ३० गते रहेको र मतदाता नामावली दर्ता कार्यमा जनशक्ति व्यवस्थापनका कारण दर्ता गर्न आउने सेवाग्राहीले लामो समय कुर्नु परेको, प्रि–इनरोलमेण्ट फारममा मतदान केन्द्र छनोट गर्न नसकेको, नागरिकता नम्बर प्रविष्ट गरे पनि नामावली दर्ता गर्न प्राविधिक समस्या आउने गरेको, जेनजी आन्दोलनका सहिद तथा घाइते परिवार र अशक्त व्यक्तिहरूलाई दर्ता गराउन असहज भएको जस्ता गुनासो आइरहेको अवस्था छ,’ प्रधानमन्त्रीले समस्याको पहिचान गर्दै भनेकी छन्।
थर्ड पोल 