अशोक राई एमालेतिर जान लागेपछि जसपामा किचलो, रेणुसहितका नेता उपेन्द्रको पार्टीमा फर्किँदै

अशोक राई एमालेतिर जान लागेपछि जसपामा किचलो, रेणुसहितका  नेता उपेन्द्रको पार्टीमा फर्किँदै

जनता समाजवादी पार्टीका अध्यक्ष अशोक राईले नेकपा एमालेसँग एकता गर्न लागेपछि नेताहरू बिच्किएका छन् ।

मधेसवादी दलसँग एकता गर्ने कि कम्युनिस्ट पार्टीसँग एकता गर्ने विषयमा नेताहरू दुई धारमा विभाजित छन् । यहीकारण अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी फुट्न लागेको हो।

गत वैशाखमा अशोक राई र उपेन्द्र यादवबीच टकराव हुँदा जसपा नेपाल फुटेर अशोक राईले जनता समाजवादी पार्टी बनाएका थिए।

तर अहिले एमालेसँग राई पक्ष निरन्तर संवादमा छ। जनार्दन शर्माको प्रगतिशील राष्ट्रिय अभियानसँग पनि राई सम्पर्कमा छन् । तर निकटहरूका अनुसार राई एमालेमा फर्किने तयारीमा छन्।

‘अशोक राईको जसपा हाम्रोमा फर्किने तयारीमा हुनुहुन्छ’, एमाले उपाध्यक्ष पृथ्वी सुब्बा गुरुङले भने, ‘उहाँहरूसँग छलफल भइरहेको छ।’

राई पक्षले एमालेमा फर्किने निर्णयमा पुग्दा मधेस पृष्ठभूमिका नेताहरू पुरानो पार्टी जसपा नेपालमा फर्किने तयारीमा रहेको बुझिएको छ ।

आइतबार साँझ उपेन्द्र यादवको जनता समाजवादी पार्टी र महन्त ठाकुरको लोकतान्त्रिक समाजवादी पार्टी एकीकरण गरेपछि नेताहरू त्यसमै फर्किन लागेका हुन्।

दुई पार्टीको एकतापछि जसपामा फर्किन तयार प्रदीप यादव, रेनु यादव, नवलकिशोर साह सुडी, वीरेन्द्र महातो लगायतका नेताहरू रहेका छन्।