आज विश्वासको मत लिँदै कोशी प्रदेशका मुख्यमन्त्री कार्की

आज विश्वासको मत लिँदै कोशी प्रदेशका मुख्यमन्त्री कार्की


काठमाडौं, कार्तिक १ गते । आज कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले आज विश्वासको मत लिने भएका छन् ।संविधानको धारा १६८ को उपधारा ५ अनुसार मुख्यमन्त्री नियुक्त भएका कार्कीले आज बस्ने प्रदेशसभा बैठकबाट विश्वासको मत लिने भएका हुन् ।

कांग्रेसका ८ जना र नेकपा एमालेका ३९ जना सांसदको समर्थनमा प्रदेश प्रमुखसमक्ष दाबी पेस गरेका कार्की मुख्य मन्त्री नियुक्त भएका थिए ।केन्द्रमा गठबन्धन दलहरुका नेताबीच माओवादीलाई सरकारको नेतृत्व दिने सहमति बनेको भए पनि त्यसप्रति असन्तुष्टि जनाउँदै कांग्रेसको शेखर कोइराला पक्षका कार्कीले मुख्यमन्त्रीमा दाबी पेस गरेका थिए ।

कार्कीलाई नेकपा एमालेसँगै माओवादी केन्द्र, एकीकृत समाजवादीलगायतले पनि विश्वासको मत दिने भएका छन् ।त्यसबाहेक कांग्रेसको संस्थापन पक्षका सांसद र जनता समाजवादी पार्टीले पनि विश्वासको मत दिने जनाइएको छ ।राष्ट्रिय प्रजातन्त्र पार्टी भने तटस्थ बस्ने भएको छ ।

मुख्यमन्त्री कार्कीले शपथ ग्रहण गरेपछि तीन सदस्यीय मन्त्रिमण्डल गठन गरिसकेका छन् ।उनले कांग्रेसको ‘विद्रोही’ समूहका एकजना र नेकपा एमालेका एकजनालाई मन्त्री नियुक्त गरेका छन् ।यसैबीच, नेकपा एमालेले सरकारमा ५ जना मन्त्री पाउनुपर्ने दाबी गरेको छ ।