एनआईसी एशिया बैंकको ‘स्काई क्लब कार्ड’ले यती एयरलाइन्समा छुट पाउने
काठमाडौं । एनआईसी एशिया बैंकले यती एयरलाइन्ससँगको सहकार्यमा ‘स्काई क्लब कार्ड’ सार्वजनिक गरेको छ । भिषाको ब्रान्डेडको रुपमा आएको यो कार्ड यती एयरलाइन्स तथा कम्पनीका सबै ग्राहकहरूले प्राप्त गर्न सक्ने छन् ।उक्त कार्डको प्रयोग गरेर एयरलाइन्सको टिकट खरिद गर्दा १० प्रतिशत छुटसहित अन्य सुविधाहरू उपलब्ध हुने गरी दुबै पक्षबीच समझदारी भएको कम्पनीले जनाएको छ ।
यती एयरलाइन्सको मोबाइल एप तथा वेबसाइट प्रयोग गरेर यस कार्डबाट ई–कमर्स भुक्तानी गरी सबै प्रकारका टिकट काट्दा ग्राहकहरूले १० प्रतिशत छुट प्राप्त गर्न सक्नेछन् भने प्रत्येक कारोबारमा माइलेज पोइन्टस् र ५ किलोग्राम अतिरिक्त ब्यागेज सुविधा पनि पाइनेछ ।
एयरलाइन्सका विभिन्न काउन्टरमा यो कार्ड देखाएर टिकट काट्दा समेत उक्त छुट उपलब्ध हुनेछ । साथै, उक्त कार्डको प्रयोग गरेवापत देशभरका विभिन्न होटल, रेष्टुरेन्ट, अस्पताल र यती एयरलाइन्सको स्काई क्लब कार्डमा उपलब्ध हुने सम्पूर्ण सुविधा एवं छुटहरू प्राप्त गर्न सक्ने बैंकले जनाएको छ ।
यो कार्ड लिनका लागि बैंकको शाखा कार्यालयमा पुगेर आवेदन दिनु पर्नेछ । यो सम्झौतापछि टिकट खरिदमा अधिकतम छूटका अलावा विभिन्न सेवाहरूमा विशेष छुट पनि प्राप्त हुने बैंकको भनाइ छ ।
थर्ड पोल 