कांग्रेस फागुन २१ को निर्वाचनमा जान्छ, यसमा कसैले द्विविधा नराखौं: महामन्त्री थापा

कांग्रेस फागुन २१ को निर्वाचनमा जान्छ, यसमा कसैले द्विविधा नराखौं: महामन्त्री थापा

कांग्रेसका कतिपय सांसदहरूले संसद पुनःस्थापनाको माग गर्नलाई हस्ताक्षर संकलन गर्न थालेपछि महामन्त्री गगन थापाले कांग्रेस चुनावकै पक्षमा रहेको स्पष्ट पारेका छन्।

सोमबार बिहान फेसबुकमा स्ट्याटस लेखेर महामन्त्री थापाले संविधानलाई सही मार्गमा ल्याउने एकमात्रै बाटो चुनाव भएकाले कांग्रेसको यसमा कुनै अलमल नरहेको बताएका हुन्।

'नेपाली कांग्रेसले फागुन २१ गतेको निर्वाचनमा भाग लिन्छ मात्र होइन, यसलाई सफल पनि बनाउँछ। यसमा कसैले पनि द्विविधा नराखौं,' उनले भनेका छन्।

महामन्त्री थापाले प्रधानमन्त्रीको उपस्थितिमा सम्पन्न सर्वदलीय बैठकमा पनि चुनावमा जाने पार्टीको निर्णयलाई स्पष्ट रूपमा राखिएको स्मरण गराए।

'केन्द्रीय कार्यसम्पादन समितिको पनि यही निर्णय हो,' उनले भनेका छन्।

आइतबार कांग्रेसका निवर्तमान प्रमुख सचेतक श्याम घिमिरेले संसद पुनस्थापनका लागि हस्ताक्षर संकलन सुरू गरेको बताएका थिए।

‘हामीले विघटित प्रतिनिधि सभामा रहेका हाम्रा सांसदहरूको हस्ताक्षर गर्न सुरू गरेका छौं,’ उनले भनेका थिए, ‘सबैको हस्ताक्षर लिएर पार्टी केन्द्रीय समितिमा बुझाउँछौं। न्यायलयको ढोका ढकढक्याउन पनि हस्ताक्षर सुरू गरिएको हो।’

महामन्त्री थापाले भने केन्द्रीय कार्यसमितिमा भएको अलमल संसद पुनःस्थापना कि निर्वाचन भन्ने विषयमा नरहेको प्रष्ट पारेका छन्।