कांग्रेस विशेष महाधिवेशन पक्षधरको भेला आज, क-कसले सम्बोधन गर्छन्?
नेपाली कांग्रेसको विशेष महाधिवेशन माग गरेका महाधिवेशन प्रतिनिधिहरू आज काठमाडौंमा भेला हुँदैछन्।
राष्ट्रिय सभागृहमा आज दिउँसो १ बजे विशेष महाधिवेशन सन्दर्भमा केन्द्रित रहेर भेला हुन लागेको हो।
कांग्रेसका ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिहरूले विशेष महाधिवेशन आयोजना गर्न माग गर्दै असोज २९ गते कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई कारण खुलाएर हस्ताक्षर बुझाएका थिए। विधानको धारा १७ को २ अनुसार उनीहरूले विशेष महाधिवेशन माग गरेका थिए।
तर अहिलेसम्म पनि हस्ताक्षर सनाखतलगायत केही प्रक्रिया अघि नबढेको र नियमित महाधिवेशन कार्यतालिका पनि नआएको परिस्थिति छ। फागुन २१ को प्रतिनिधि सभा चुनावअघि महाधिवेशन गर्ने कि नगर्नेमै नेताहरू विभाजित छन्।
यस्तो अवस्थामा विशेष महाधिवेशन अझै सान्दर्भिक रहेको भन्दै महाधिवेशन प्रतिनिधिहरूले भेला गरी केन्द्रीय समितिलाई दबाब दिन लागेका हुन्। महाधिवेशनबारे निर्णय लिन भोलि दिउँसो सानेपामा केन्द्रीय समिति बैठक पनि बस्दैछ।
विशेष महाधिवेशन माग गरेकाहरूको भेलामा पदाधिकारी तथा केन्द्रीय सदस्यहरूले बोल्ने कार्यक्रम नरहेको नेताहरूले जनाएका छन्। विशेष महाधिवेशन पक्षधरका भेलामा अहिलेसम्म केन्द्रीय सदस्यहरूले धारणा राखेका छैनन्।
थर्ड पोल 