कांग्रेस विशेष महाधिवेशन पक्षधरले भोलि भेला गर्ने, पर्सीको केन्द्रीय समिति निर्णय कुर्ने
नेपाली कांग्रेसमा विशेष महाधिवेशन माग गरेका महाधिवेशन प्रतिनिधिहरूले भोलि काठमाडौंमा भेला गर्ने भएका छन्।
विशेष महाधिवेशनका सन्दर्भमा बुधबार विशेष भेला आयोजना गरिएको नेता गुरूराज घिमिरेले सेतोपाटीलाई जानकारी दिए।
मंसिर १० गते दिउँसो १ बजे प्रदर्शनीमार्गस्थित राष्ट्रिय सभागृहमा भेला हुने उनले बताए।
‘विशेष महाधिवेशनको आवश्यकता र औचित्यबारे नेताहरूले धारणा राख्ने कार्यक्रम हो,’ उनले भने, ‘अब पार्टीलाई अघि बढाउने एक मात्र बाटो विशेष महाधिवेशन हो।’
विशेष महाधिवेशन पक्षधरले अब नियमित महाधिवेशनको चर्चासमेत नगरिने बताएका छन्।
मंसिरभित्रै नियमित महाधिवेशन गरे आफूहरूलाई मान्य हुने कुरा उनीहरूले बताउँदै आएका थिए तर त्यस अवधिभित्र महाधिवेशन कार्यतालिका ल्याउन सभापति शेरबहादुर देउवा पक्षका केही पदाधिकारी र केही पूर्वपदाधिकारी तयार देखिएका थिएनन्।
सभापति देउवा, कार्यवाहक सभापति पूर्णबहादुर खड्का पुसभित्रै नियमित महाधिवेशन कार्यतालिका ल्याउने गरी छलफलमा रहेको चर्चासमेत कांग्रेसभित्र हुने गरेको छ। तर असोज २९ गते नै विशेष महाधिवेशन माग गर्दै कारण खुलाएर हस्ताक्षर बुझाएका महाधिवेशन प्रतिनिधिहरूले पुस मसान्तभित्र विशेष महाधिवेशन नै आयोजना गर्नुपर्ने बताइरहेका छन्।
थर्ड पोल 