कांग्रेस समानुपातिक सूचीमा निधिकी भान्जी, मधेसमा विरोध

कांग्रेस समानुपातिक सूचीमा निधिकी भान्जी, मधेसमा विरोध

नेपाली कांग्रेसले प्रतिधिनिधि सभा चुनावका लागि निर्वाचन आयोगमा बुझाएको समानुपातिक बन्दसूचीमा नेता विमलेन्द्र निधिकी भान्जी परेपछि मधेस कांग्रेसभित्र विरोध भएको छ। 

निधिले नै आफ्नी भान्जी निनु कर्णलाई सिफारिस गरेर समानुपातिक सूचीमा मधेसी महिलाको एक नम्बरमा राखेको भन्दै विरोध भएको हो। 

विरोध जनाउने मध्येमा जनकपुर कांग्रेसका पूर्व नगरसभापति रहेका जीवनाथ चौधरी छन् र उनले फेसबुकमै नेता निधिको आलोचना गरेका छन्। 

‘गत प्रतिनिधि सभामा आदरणिय नेता विमलेन्द्र निधिज्यू आफैं समानुपातिक सांसद बन्नु भयो। यसपालि त झन् आफ्नै भान्जी निनु कर्णलाई समानुपातिक बन्द सूचीको मधेसी महिलातर्फ को १ नम्बर क्रममा राख्न लगाएर सांसद बन्ने निश्चित टिकट नै दिलाइ दिनु भयो,’ उनले लेखेका छन्। 

उनले फेसबुकमार्फत निधिलाई प्रश्न पनि सोधेका छन्। 

‘विमल दाईसँग मेरो सामान्य जिज्ञासा, तपाईं सँगै जेल–नेल बसेका, लाठी खाएका, यातना सहेका, प्रजातन्त्रका लागि जीवन अर्पण गरेका यसै क्षेत्रका ललन चौधरी, प्रफुल्ल राज घिमिरे, युवराज खाति,राज किशोर सिंह, राम भरत साह, वैद्यनाथ साह, धीरेन्द्र मोहन झा, निर्मल चौधरी, देवचन्द्र झा, अनिता श्रीवास्तव,… बलभद्र लाल कर्ण जस्ता प्रजातन्त्र सेनानीहरूले के पाए?,’ उनले सोधेका छन्, ‘न उनीहरूले केही पाए, न त उनीहरूका सन्तानले। आज न तिनका छोरा–छोरी, श्रीमतीहरूको अवस्था के छ भनेर सोधपुछ गर्ने नेता छ। गाँस, बास र कपास बिना बाँचिरहेका ती परिवारहरूको पीडा कसैको सूचीमा परेन?’