कांग्रेसका विशेष महाधिवेशन पक्षधरले आज महिला भेला गर्दै

कांग्रेसका विशेष महाधिवेशन पक्षधरले आज महिला भेला गर्दै

नेपाली कांग्रेसमा विशेष महाधिवेशन मागेर हस्ताक्षर बुझाएका महाधिवेशन प्रतिनिधिहरूले आज महिला भेला गर्ने भएका छन्।

बिहीबार बिहान साढे ११ बजे काठमाडौंको नयाँ बानेश्वरस्थित थापागाउँमा रहेको अर्पण ब्याङ्केटमा उनीहरूले भेला गर्न लागेका हुन्।

कांग्रेस केन्द्रीय सदस्य प्रतिमा गौतमले आज महिला भेला रहेको जानकारी दिइन्।

कांग्रेसका ४७४३ महाधिवेशन प्रतिनिधिमध्ये २४८८ जना महाधिवेशन प्रतिनिधिहरूले विशेष महाधिवेशन माग गर्दै गत असोज २९ गते नै कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई हस्ताक्षर बुझाएका थिए।

तर पदाधिकारी तथा पूर्व पदाधिकारीहरूले विशेष महाधिवेशन भन्दा नियमित महाधिवेशनमै जोड दिएका छन्। जसले गर्दा विशेष महाधिवेशन हस्ताक्षर सनाखत गरी त्यसको प्रक्रिया अघि बढ्न सकेको छैन।

कांग्रेस केन्द्रीय कार्यसमिति बैठकले नियमित महाधिवेशनको कार्यतालिका पनि सर्वसम्मत रुपमा ल्याउन सकेको छैन। आज पनि केन्द्रीय समिति बैठक बस्दैछ।

यस्तो अवस्थामा विशेष महाधिवेशन माग गरेका महाधिवेशन प्रतिनिधिहरूले प्रक्रिया अघि बढाउन आग्रह गरिरहेका छन्।