केपी ओलीसँग झापामा चुनाव लड्ने बालेनको चाहना

केपी ओलीसँग झापामा चुनाव लड्ने बालेनको चाहना

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहलाई फागुन २१ को निर्वाचनअघि नै एक ठाउँ ल्याउन तारन्तार प्रयास भएका थिए।

जेनजी अभियानबाट उदाएका 'हामी नेपाल' का संस्थापक सुदन गुरूङ पनि यी दुईलाई मिलाउन प्रयासरत थिए। उनले लामिछानेलाई थुनामै भएका बेला भेटेर बालेनसँग मिल्न आग्रह गरेका थिए।

रास्वपा आफैले वैकल्पिक राजनीति गर्ने शक्तिहरूसँग मिलेर अघि बढ्ने निर्णय गरेको थियो।

बालेन आफै भने झापा गएर केपी ओलीविरूद्ध चुनावमा खडा हुन चाहेको उनी निकट एक नेताले बताए। केपी ओलीलाई उनकै निर्वाचन क्षेत्रबाट नहराइकन चुनाव जितेको मज्जा नहुने कुरा बालेनले आफ्ना निकटहरूलाई बताउने गरेका छन्।

'बालेन दाइ ओलीलाई नहराइकन त चुनाव जितेको मज्जा हुँदैन भन्नुहुन्छ,' बालेनसँग निकट सम्पर्कमा रहेका ती नेताले भने, 'उहाँको चाहना ओलीलाई नै हराउने हो।'

बालेन शाहको घर काठमाडौंको निर्वाचन क्षेत्र नम्बर २ स्थित सिनामंगलमा छ। तर उनी कुन ठाउँमा चुनाव लड्छन् वा चुनाव नै लड्दैनन् भन्ने खुलेको छैन। उनी दोधारमा रहेको ती नेताको भनाइ छ।

'कहिले दाइ चुनाव लड्छु भन्नुहुन्छ त कहिले महानगरको कार्यकाल पूरा गर्छु भन्नुहुन्छ,' ती नेताले भने, 'तर अहिले देशका लागि योगदान गर्नुपर्छ भन्ने वरिपरिका साथीभाइको आग्रह स्वीकार गरेजस्तो लाग्छ।'