जेनजीको नाममा धम्की दिने अर्जुनबहादुर शाही फेरि पक्राउ: ठगी र बैंकिङ कसुरको आरोप
जेनजी आन्दोलनको नाम लिएर नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का महानिर्देशक प्रदीप अधिकारीलाई राजीनामा दिन चेतावनी दिने अर्जुनबहादुर शाही फेरि पक्राउ परेका छन्। जिल्ला प्रहरी परिसर काठमाडौँले उनलाई ठमेल क्षेत्रबाट नियन्त्रणमा लिएको हो।
शाहीमाथि ठगी, आपराधिक विश्वासघात र बैंकिङ कसुर (चेक अनादर) को आरोप छ। मनसरी घले लगायतका व्यक्तिहरूले उनीविरुद्ध उजुरी दिएका थिए। प्रहरीका अनुसार शाही विभिन्न मुद्दामा फरार थिए।
यसअघिको पक्राउ र रिहाइ
- असोज २९ मा पनि शाही पक्राउ परेका थिए। त्यतिबेला जेनजीको नाममा उच्च पदस्थ अधिकारीहरूलाई धम्की दिएको र सरकारी कार्यालयमा ‘मोनिटरिङ’ गर्ने नाममा दबाब दिएको आरोप थियो।
- उनले क्यान, नेपाल वायुसेवा निगम र अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पुगेर धम्कीपूर्ण मेमोरेन्डम बुझाएका थिए।
- पक्राउपछि धरौटीमा रिहा भएका शाहीले फेरि पुरानै गतिविधि दोहोर्याएको प्रहरीको भनाइ छ।
२६ वर्षीय शाही अछामको पञ्चदेवल विनायक नगरपालिका–४ का बासिन्दा हुन्। जेनजी आन्दोलनपछि उनले आफूलाई ‘जेनजी अगुवा’ भन्दै विभिन्न सरकारी निकायमा पुगेर दबाब दिने र कोटा माग्ने गरेको आरोप छ। आन्दोलनपछि सुशीला कार्की प्रधानमन्त्री बनेकी थिइन्, जसको शपथग्रहणमा शाही सहभागी भएका फोटोहरू सार्वजनिक भएका थिए।
थर्ड पोल 