देउवालाई नै सक्रिय बनाउने निर्णयमा कसरी पुग्यो कांग्रेस ?
विघटित प्रतिनिधिसभामा सबभन्दा ठूलो दल नेपाली कांग्रेसले आइतबार निर्वाचन आयोगमा राष्ट्रियसभा तथा प्रतिनिधिसभा चुनाव प्रयोजन निम्ति पार्टी दर्ता गरेको छ । पार्टी दर्तासँगै आधिकारिक उमेदवार तोक्न कसको हस्ताक्षर चल्ने भन्ने उल्लेख गर्नुपर्छ । कांग्रेसले सभापति शेरबहादुर देउवाको हस्ताक्षर चल्नेगरी आयोगमा पार्टी दर्ता गराएको छ ।
तर, यो विषयमा कांग्रेसभित्र विवाद सुरु भएको छ । कसको नेतृत्वमा चुनावी प्रतिस्पर्धामा जाने भनी प्रश्न उठेपछि महामन्त्री गगन थापाले सामाजिक सञ्जालमार्फत् जवाफ दिएका छन् ।
“बिहानदेखि धेरै साथीहरूले सोधिरहनुभएको छ– पार्टीले वर्तमान सभापतिज्यूकै हस्ताक्षरमा चुनाव लड्ने भएको हो ? मैले भनें– होइन । साथीहरूले फेरि सोध्नुभयो— कसरी ?” संवाद शैलीमा महामन्त्री थापाले भनेका छन् ।
उनको भनाइमा, “मैले भनेँ– प्रस्ट छ । अब विधानबमोजिम समयभित्रै विशेष महाधिवेशन हुन्छ । त्यहीँबाट नयाँ सभापतिको निर्वाचन हुन्छ । नयाँ सभापतिको हस्ताक्षरसहित निर्णय सच्चिएर निर्वाचन आयोगमा जान्छ । नयाँ नीति र नेतृत्वसहित त्यही हस्ताक्षरमा पार्टी चुनाव लड्छ ।”
थर्ड पोल 