मोटरसाइकल पल्टिँदा प्रहरी जवानको मृत्यु, एक जना गम्भीर घाइते
ललितपुरको सानेपामा मोटरसाइकल पल्टिँदा एक प्रहरी जवानको मृत्यु भएको छ। एक जना गम्भीर घाइते भएका छन्। मृत्यु हुनेमा धादिङ घर भई हाल महानगरीय प्रहरी वृत्त चापागाउँमा कार्यरत प्रहरी जवान नविन न्यौपाने रहेका छन्। न्यौपानेको उपचारको क्रममा सानेपास्थित स्टार अस्पतालमा राति सवा २ बजे मृत्यु भएको हो।
दुर्घटनामा घाइते भएका तनँहुको आबुखैरेनी घर भई हाल महानगरीय प्रहरी वृत्त सातदोबाटोमा कार्यरत प्रहरी जवान सुमन कुमार सिंहको उपचार भइरहेको छ। न्यौपाने र सिंह सवार रहेको बा ८३ प ८९८५ नम्बरको मोटरसाइकल गएराति सवा १ बजे अनियन्त्रीत भएर पल्टिएको प्रहरीले जनाएको छ।
यस्तै ताप्लेजुङको फुङलिङ नगरपालिका ९ मा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। अरु ३ जना घाइते भएका छन्। दुर्घटनामा ट्याक्टरमा सवार फुङलिङ ८ का २८ वर्षिय रुपेश राईको घटनास्थलमा नै मृत्यु भएको हो। घाइते तीनै जनाको जिल्ला अस्पताल ताप्लेजुङमा उपचार भैरहेको छ।
