निकटस्थको रोदनले फेरियो बासु घिमिरेको मन, नेता-कार्यकर्ताले हटाए गाली गरेका स्टाटस

निकटस्थको रोदनले फेरियो बासु घिमिरेको मन, नेता-कार्यकर्ताले हटाए गाली गरेका स्टाटस

विघटित प्रतिनिधिसभाका सांसद बासुदेव घिमिरेले मंगलबार राति एमाले त्यागेको घोषणा गरेपछि पार्टीभित्र तरंग फैलियो । उनले जनताको इच्छा र चाहना सम्बोधन गर्ने अवस्था नदेखिएकोले पार्टीको जिम्मेवारीबाट अलग भएको भनेर सामाजिक सञ्जालमै लेखेका थिए ।

घिमिरेको उक्त स्टाटसपछि उनी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा जान सक्ने आँकलन भयो । केही दिनअघि मात्रै उनले बालेनसँग भेटवार्ता गरेको तस्बिर पनि चर्चामा आयो । तर, यतिबेला घिमिरेलाई एमालेमै अड्याउन निर्णायक पहल सुरू भएको छ । आफ्नै ‘कोर टीम’ मा व्यक्तिहरूले पनि उनीमाथि दबाब सिर्जना गरिरहेका छन् ।

घिमिरेले एमालेबाटै तिलोत्तमाको मेयर, प्रतिनिधिसभाको सदस्य, प्रदेश कमिटीको सदस्य जितेका थिए । तर, पछिल्लोपटक उनी एमालेको ११ औं महाधिवेशनमा पार्टीको संस्थापन समूहबाट केन्द्रीय कमिटीको प्यानलमा नपरेपछि असन्तुष्ट बने । एमाले उपाध्यक्ष विष्णुप्रसाद पौडेल निकटस्थ घिमिरे केन्द्रको मुख्य लिस्टमा नपरे पनि महाधिवेशनमा केन्द्रीय सदस्यको उम्मेदार बने । राम्रै मत ल्याए पनि त्यो जितका लागि पर्याप्त भएन ।