नेकपा माओवादीको कम्युनमा प्रहरीको छापा, विस्फोटक पदार्थ बरामद

नेकपा माओवादीको कम्युनमा प्रहरीको छापा, विस्फोटक पदार्थ बरामद

नेत्रविक्रम चन्द 'विप्लव' नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (माओवादी) को अर्घाखाँचीस्थित कम्युनमा विस्फोटक पदार्थ बरामद भएको छ।

बिहान १० बजेतिर अर्घाखाँची शितगंगा नगरपालिका–११ बोक्सेमा जिल्ला प्रहरी प्रमुख डिएसपी दिवसबहादुर जिसीको कमान्डमा गस्ती गर्दा कोही नबस्ने गोठबाट भरूवा बन्दुक र ग्रिनेड लगायतका विस्फोटक पदार्थ फेला परेका हुन्।

फेला परेका विस्फोटक पदार्थमा भरूवा बन्दुक दुई थान, ग्रिनेड १४ वटा, डेटोनेटर १२ वटा, लामो लन्चर जस्तो देखिने प्लास्टिकको पाइप ३ वटा, पाँच लिटरको प्रेसर कुकर बम एउटा, स्टिलको बम एउटा, बिजुलीको तार ४ बन्डल, बारूद ५०० ग्राम छन्।

भरूवा बन्दुक बाहेक अन्य विस्फोटक पदार्थ नेपाली सेनाको सहयोगमा शुक्रबार नै डिस्पोज गरिएको प्रहरीले जानकारी दिएको छ।

नेकपा माओवादीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा 'प्रकाण्ड' ले भने कम्युनमा छापा मारिएको घटनालाई 'राज्यको श्वेत आतंक' को संज्ञा दिएका छन्।