मतदाता नामावलीमा नाम दर्ता गर्नेको घुईंचो, चुनावी कार्ययोजना तयार

मतदाता नामावलीमा नाम दर्ता गर्नेको घुईंचो, चुनावी कार्ययोजना तयार

आउँदो फागुन २१ गते हुने प्रतिनिधिसभा चुनावका लागि मतदाता नामावलीमा नाम दर्ता गर्नेको घुईंचो लाग्न थालेको छ । यसअघि कम उत्साह रहेकोमा पछिल्ला केही दिनयता घुईंचो बढेको निर्वाचन आयोगले जनाएको छ ।

आयोगका अनुसार पछिल्लो समयमा नागरिकको उत्साहजनक रूपमा मतदाता नामावली सङ्कलन अगाडि बढीरहेको छ । यही कात्तिक ३० गतेसम्म मतदाता नामावली सङ्कलन हुनेछ । चुनावका लागि मतदाता नामावलीमा नाम दर्ता भएकामध्ये फागुन २० गतेसम्म १८ वर्ष उमेर पूरा हुने मतदाताले मात्र मतदान गर्न पाउने छन् ।

यस्तै १६ वर्ष उमेर पूरा भई नागरिकताको प्रमाणपत्र प्राप्त गरेका सबै नेपाली नागरिकले मतदाता नामावलीमा नाम दर्ता गर्न पाउने छन् । आयोगले प्रतिनिधिसभा चुनावको कार्ययोजना पनि तयार पारेको छ । आयोगको कार्ययोजना अनुसार चुनाव प्रचार–प्रसारका लागि फागुन ४ गतेदेखि १८ गतेसम्म तोकिएको छ ।

त्यसपछि मौन अवधि शुरु हुनेछ । त्यस्तै फागुन १२ गतेभित्र मतपत्र जिल्ला सदरमुकाम पुर्‍याउने र त्यसपछि मतदान केन्द्रहरूमा पठाइने कार्ययोजना छ । राष्ट्रियसभा अन्तर्गतको सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको हिजोको बैठकमा आयोगका पदाधिकारीले चुनावको पूर्व तयारी र आउँदो कार्यक्रमबारे जानकारी दिएका हुन् ।