मदुरोलाई अमेरिकाले पक्राउ गरेपछि भेनेजुएलाकी कार्यवाहक राष्ट्रपति भएकी डेल्सी रोड्रिगेज को हुन्?
भेनेजुएलाको सर्वोच्च अदालतले उपराष्ट्रपति डेल्सी रोड्रिगेज कार्यवाहक राष्ट्रपति बन्ने पुष्टि गरेको छ।
राष्ट्रपति निकोलस मदुरोलाई अमेरिकाले सैन्य कारबाहीमा पक्राउ गरेर न्यूयोर्क लगेपछि भेनेजुएलाको कार्यवाहक राष्ट्रपतिको जिम्मा डेल्सीले पाएको 'वासिङ्टन पोस्ट' ले जनाएको छ।
यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि मदुरो पक्राउ परेपछि उपराष्ट्रपति रोड्रिगेजलाई अन्तरिम नेताका रूपमा सपथ गराइएको दाबी गरेका थिए।
रोड्रिगेजले शनिबारै भेनेजुएलाली जनतालाई सम्बोधन गर्दै अमेरिकी कारबाहीलाई 'लज्जास्पद' भन्दै आलोचना गरेकी छन्।
उनले मदुरो नै भेनेजुएलाका एक मात्र वैधानिक राष्ट्रपति भएको दाबी गर्दै मदुरो र उनकी पत्नी तथा प्रथम महिला सिलिया फ्लोरेसको तत्काल रिहाइको माग गरेकी छन्।
उनले अमेरिकी कदमलाई 'अवैध अपहरण' को संज्ञा पनि दिइन्।
मदुरोकी निकट सहयोगी मानिने रोड्रिगेज पेसाले कानुनविद र कूटनीतिज्ञ हुन्। उनले कराकास, पेरिस र लन्डनमा अध्ययन गरेकी छन्। भेनेजुएलाको आर्थिक नीति पुनर्संरचनामा उनको महत्त्वपूर्ण भूमिका रहँदै आएको छ र उनले व्यावसायिक समुदायसँग निकट सम्बन्ध बनाएकी छन्।
सन् २०१८ मा उपराष्ट्रपति बन्नुअघि रोड्रिगेज सञ्चार तथा सूचना मन्त्री, परराष्ट्र मन्त्री र पेट्रोलियम मन्त्रीका रूपमा कार्यरत थिइन्।
थर्ड पोल 