रास्वपा महामन्त्रीलाई प्रश्न– पुराना नेताहरूलाई किन लगाइँदैछ पाखा?

रास्वपा महामन्त्रीलाई प्रश्न– पुराना नेताहरूलाई किन लगाइँदैछ पाखा?

पछिल्लो समय राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) परित्याग गर्ने नेताहरूको लहर चलेको छ। पूर्वसचिवालय सदस्य सुमना श्रेष्ठदेखि प्रमुख सचेतक सन्तोष परियारले अलग यात्रा तय गरिरहँदा रास्वपाभित्र हलचल मच्चिएको छ।

पहिलो महाधिवेशन नै नगरी पार्टीबाट एक एक मानिस किन चुहिइरहेका छन् भनेर हामीले पार्टीका महामन्त्री कविन्द्र बुर्लाकोटीसँग कुराकानी गरेका छौं —

रास्वपाबाट धमाधम नेताहरू बाहिरिँदै छन्, यसलाई पार्टीले कसरी लिएको छ? नेताहरू अवसर खोज्न बाहिरिएका हुन् कि तपाईंहरूले उनीहरूको क्षमता उपयोग गर्न नसक्नुभएको?

मुलुकको राजनीति तरल छ। त्यसैले पार्टी छाड्ने र नयाँ जोडिने क्रम चलिरहेको छ।

बाहिरिने साथीहरूले पार्टी र संगठनमा सामान्य कुराहरू राख्नुभएको थियो। तर त्यही विषय छलफलमा एजेन्डाकै रूपमा प्रस्तुत गर्नुभएको थिएन।

हामीले पार्टीभित्र आन्तरिक रूपमा यसको समीक्षा गर्नुपर्नेछ। यो कुरा मनन् पनि गरेका छौं। पार्टी बन्नका लागि हुनुपर्ने गतिविधिहरूको र पार्टीकै आन्तरिक समीक्षा पनि गर्नुपर्छ भन्ने मलाई लाग्छ।

अहिले छाड्नुभएका साथीहरूले फरक विचार राखेर, उहाँहरूको विचार पारित नभएर वा त्यसलाई कुनामा पार्ने काम गरिएर छाड्नुभएको होइन। अहिलेको राजनीतिक ध्रुवीकरणले यसलाई अलि अलि निर्देशित गरेको हो कि भन्ने लाग्छ।