रास्वपासँग मिल्न नगएका विवेकशीलका पूर्वअध्यक्ष मिलन पाण्डे भन्छन्– गेम इज नट ओभर!

रास्वपासँग मिल्न नगएका विवेकशीलका पूर्वअध्यक्ष मिलन पाण्डे भन्छन्– गेम इज नट ओभर!
Tata box 1
Siddhartha

मिलन पाण्डे विवेकशील साझाका पूर्वअध्यक्ष मात्र होइनन्, विवेकशील अभियानका संस्थापक उज्ज्वल थापाको राजनीतिक 'स्कुलिङ' मा हुर्किएका र उज्ज्वलको विरासत धानेका नेता पनि हुन्।

उनी विवेकशील साझा र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बीच आइतबार राष्ट्रिय सभागृहमा घोषणा भएको 'निसर्त' एकतामा सामेल भएनन्।

यसअघि विवेकशील साझाले पार्टी एकीकरणको निर्णयसहित सार्वजनिक गरेको केन्द्रीय समिति बैठकको तस्बिरमा पनि मिलन देखिएका थिएनन्। त्यसलगत्तै हामीले उनलाई 'यो एकता कस्तो लाग्यो' भनेर सोधेका थियौं।

उनको जबाफ थियो, 'परिवारको कुनै सदस्यलाई भेन्टिलेटरमा राखेर बचाइएको छ भने कस्तो लाग्छ? आधा दु:ख, आधा खुसी। मलाई पनि त्यस्तै लागिरहेको छ।'

'रिड बिट्वीन द लाइन्स', अर्थात् वाक्यहरूका बीचमा लुकेको भाव बुझ्नुपर्छ — यो अंग्रेजी भनाइ राजनीतिमा ठ्याक्कै लागू हुन्छ। यहाँ व्यक्तिको भनाइभन्दा त्यो भनाइभित्र लुकेको भावले बढी अर्थ राख्छ।

मिलनले त्यो भाव अझै प्रस्ट हुने गरी खुलाउँदै हामीसँग यो पनि भनेका थिए, 'गेम इज नट ओभर (खेल सकिएको छैन), राजनीतिक जीवनमा रहेसम्म विवेकशील अभियानलाई जीवित राख्ने प्रयास गरिरहनेछु।'

नभन्दै आइतबार एकता घोषणासभा सुरू हुनुभन्दा अगाडि मिलनले एकतामा सामेल सहकर्मीहरूलाई शुभकामना दिँदै सामाजिक सञ्जाल फेसबुकमा लेखे, 'म यो एकीकरणमा सामेल छैन। अब केही समय (केही दिन वा केही महिना) 'कुलिङ पिरियड' लिन्छु। त्यसपछि नयाँ तरिकाले राजनीतिक यात्रा सुरू गर्नेछु।

सोमबार बिहान हामीले मिलनसँग उनको राजनीतिक 'कुलिङ पिरियड' को अर्थ र अबको राजनीतिक यात्रा के हुन सक्छ भन्नेबारे कुराकानी गरेका छौं।

कुराकानीको सुरूमै उनले भने, 'म र विवेकशील अब कुनै पनि निर्णय गर्न 'स्वतन्त्र' छौं।'