साउनको पहिलो सोमबार, देशभरका शिवालयमा श्रद्धालु भक्तजनको घुइँचो
काठमाडौं । आज साउनको पहिलो सोमबार पशुपतिनाथ मन्दिरमा पूजा अर्चनाका लागि आएका भक्तजनहरूको घुइँचो रहेको छ। हिन्दू धर्मशास्त्र अनुसार सोमबार भगवान शिवको विशेष दिन हो। यो दिन देवको पनि देव, महादेव शिवको व्रत बसी पूजाआजा गरिन्छ। आज शिवको पूजा अर्चना आजा गर्दा मनोकांक्षा पूरा हुने जनविश्वास छ।
शिवका लागि समर्पित सोमबारको व्रत सूर्य उदयसँगै सुरु हुन्छ अनि सूर्य अस्ताए पछि सकिन्छ। खाना बेलुकाको आरती सकिएपछि खाइन्छ। दिनमा शिव र पार्वतीको पूजा तथा आराधना गरिन्छ। तर कुनै पनि पूजाको अगाडि गणेशको पूजा भने अनिवार्य नै छ।साउनको सोमबार शिवलाई शुद्ध जल चढाएमा खुसी र समृद्धि मिल्छ भन्ने धार्मिक विश्वास छ ।
काठमाडौंको पशुपतिनाथ मन्दिरमा दर्शन गर्न आउने भक्तजनको भिडलाई मध्यनजर गर्दै बिहान ३ बजेदेखि नै लाइन व्यवस्थापन, स्वयंसेवक एवं सुरक्षाकर्मी परिचालन, बत्ती व्यवस्थापन, आकस्मिक स्वास्थ्य उपचार सञ्चालनलगायत व्यवस्थित गरिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।साउनको सोमबार पशुपतिनाथमा आउने भक्तजनका लागि तीन वटा लाइनको व्यवस्था गरिएको छ ।
उमाकुण्ड, जयवागेश्वरी र पिङ्गलस्थानबाट प्रवेश गरी दर्शन गर्न सकिने गरी व्यवस्था मिलाइएको कोषले जनाएको छ । पशुपतिनाथका चारै ढोका सोमबार बिहान साढे तीन बजेदेखि नै भक्तजनका लागि खुला गरिएको छ ।
साउन महिनामा पशुपतिनाथ मन्दिरमा सुन्दरीजलबाट बोल बम यात्रा गरी जल चढाउने भक्तजनको पनि भीड लाग्ने गर्छ । बोल बम यात्रा गरी सुन्दरीजलबाट शुद्ध जल ल्याएर पशुपतिनाथमा चढाउने भक्तजन पनि साउनमा लाखौँ हुने गरेका छन् ।साउन महिना भगवान् शिवको महिना र सोमबार भगवान् शिवजीको बार भएकाले व्रत बस्ने परम्परा छ । यस दिन विशेषरुपमा आशुतोष भगवान् शिवको पूजा, आराधना गरिन्छ ।
थर्ड पोल 