१० वर्षपछि नाटक खेल्न नेपाल आउँदै जीवन लुइँटेल

१० वर्षपछि नाटक खेल्न नेपाल आउँदै जीवन लुइँटेल

अमेरिका गएको १० वर्षपछि चर्चित अभिनेता जीवन लुइँटेल अभिनयमा फर्किने पक्का भएको छ । कान्तिपुर थिएटरले मञ्चन गर्न लागेको नाटक ‘शिरिषको फूल’मा उनले अभिनय गर्नेछन् ।

साहित्यकार पारिजातको चर्चित उपन्यासमाथि आधारित रहेर तयार हुन लागेको नाटकको मञ्चन साउन १ गतेदेखि सुरु हुँदैछ । नाटकको प्रमुख पात्र सुयोगवीरको रोलमा लुइँटेलले अभिनय गर्नेछन् ।

थिएटर प्रमुख प्रकाश पुरीका अनुसार यो नाटककै लागि लुइँटेल आगामी साता नेपाल आउँदैछन् । फिल्म करिअरको उत्कर्षमा रहेको बेला लुइँटेल दशकअघि अमेरिका हानिएका थिए ।

नाटकको मुख्य पात्र सकम्बरीको भूमिकामा अभिनय गर्ने कलाकारबारे कान्तिपुर थिएटरले केही खुलाएको छैन । यो नाटकको लेखन तथा निर्देशन थिएटरकै विद्यार्थी पत्रिका घिमिरेले गर्दैछिन् ।