५० वर्ष राजनीति गरे पनि नेता नभएका अधिकारी सक्रिय राजनीतिबाट बिदा
एमाले नेता काशीनाथ अधिकारीले सक्रिय राजनीतिबाट बिदा लिएका छन् । ५० वर्षको राजनीतिक जीवनमा ४४ वर्ष पूर्णकालीन भएर काम गरे पनि आफू नेता नभएको उनले बताएका छन् ।
“जति दिन काम गरेँ पूरा मनले गरेँ । इमान, निष्ठा र समर्पणकासाथ गरेँ । तन, मन र धनसमेत दिएर निसर्त तथा निस्वार्थरुपमा गरेँ,” उनले भनेका छन्, “म ल्याङल्याङे कार्यशैलीको विरोधी हुँ, जसरी पनि जिम्मेवारी पूरा गर्ने मेरो कार्यशैली रह्यो ।”
नेकपा(एमाले)मा लगातार ३३ वर्ष केन्द्रीय सदस्य भए पनि आफू कहिल्यै नेता नभएको उनले प्रष्ट पारेका छन् । “म कार्यकर्ताको पात्रता भएको राजनीतिकर्मी थिएँ । समाज बदल्न हिँडेको वास्तविक झोले कार्यकर्ता थिएँ,” उनले भनेका छन्, “मैले कहिल्यै पनि पद र अवसरका लागि मरिहत्ते गरिनँ ।”
असल कम्युनिष्ट बन्ने सपना रहेको तर सबै मानकहरू पूरा गर्न नसकेको उनले प्रष्ट पारेका छन् ।
थर्ड पोल 