बाढी प्रभावितलाई प्रधानमन्त्री बालेनको सन्देश- एक्लो नठान्नुस्, अलपत्र छाड्दैनौं
प्रधानमन्त्री बालेन शाहले आफूलाई एक्लो नठान्न बाढी प्रभावितहरूलाई आग्रह गरेका छन्।
गएराति फेसबुकमा स्ट्याटस लेखेर प्रधानमन्त्री बालेनले प्रभावितहरूसँगै सरकार रहेकाले आफूलाई एक्लो नठान्न अनुरोध गरेका हुन्।
'आफूलाई एक्लो नठान्नु होला। जीवनको यो कठिन मोडमा हजुरहरूलाई कहिल्यै अलपत्र छोड्दैनौं। हजुरहरूसँग यो राज्य छ, यो सरकार छ,' प्रधानमन्त्री बालेनले लेखेका छन्।
बाढी प्रभावितहरूलाई सरकारले अस्थायी शिविरमा राखेको र त्यहाँ राहत, स्वास्थ्य सेवा र जीवनयापनका लागि आवश्यक सुविधाहरू पुर्याइएको उनले बताएका छन्।
अस्थायी बसाइलाई सकेसम्म छोटो बनाइ प्रभावितहरूलाई हरसम्भव छिटो सुरक्षित बसोबासको व्यवस्था मिलाउने पनि प्रधानमन्त्री बालेनले बताएका छन्।
'हजुरहरूको छातीमा परेको त्यो असीम पीडा, रित्तोपन र आघातलाई हामीले हदृयदेखि महसुस गरेका छौं,' उनले भनेका छन्।
उनले शनिबार बेत्रावतीबाट ६४ वर्षीय चन्द्रिका श्रेष्ठको १० दिनपछि उद्धार हुँदा सिंगो देशलाई आशा दिएको बताएका छन्। उनको उद्धार सरकार पूरै डटेर लागिरहेका छ भन्ने सन्देश पनि रहेको प्रधानमन्त्री बालेनले बताए।
थर्ड पोल 