माओवादी जुरूक्क उठ्यो भने देशभर चुनाव जित्छौं : प्रचण्ड

माओवादी जुरूक्क उठ्यो भने देशभर चुनाव जित्छौं : प्रचण्ड

जनतासँग माओवादी मध्यपहाडी (पुष्पलाल लोकमार्ग) जनजागरण अभियानका क्रममा गोरखा जिल्ला पालुङटारमा महान् सहिद सुरेश वाग्ले ‘वासु’,भिमसेन पोख्रेल ‘वैरागी’,विजय खनाल ‘दर्शन’ र हरिकला पौडेलको स्मृतिमा सभा तथा जनसम्वाद कार्यक्रम सम्पन्न भएको छ ।

जनयुद्धको क्रममा गोरखा जिल्लामात्रै १८८ भन्दा बढीले सहादत प्राप्त गरेका थिए भने २० जना बेपत्ता पारिएका थिए। स्मृति सभामा जनजागरण अभियान टिम,गण्डकी प्रदेशका नेताहरू,स्थानीय नेता,कार्यकर्ता तथा ठूलो संख्यामा आम जनसहभागिता रहेको थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सहिदहरूको योगदान स्मरण गर्दै उनीहरूका अपूर्ण सपना पूरा गर्ने संकल्प व्यक्त गरे। उनले सहिद सुरेश वाग्ले ‘वासु’जस्तो उच्च क्षमताका नेताको हत्या पार्टीका लागि ठूलो पीडा भएको उल्लेख गर्दै भाद्र २३ गतेलाई ऐतिहासिक दिनका रूपमा स्मरण गरे।