महसुल उठाउने प्राधिकरणको निर्णय सही भएको आयोगको ठहर

महसुल उठाउने प्राधिकरणको निर्णय सही भएको आयोगको ठहर

। विद्युत् नियमन आयोगले डेडिकेटेड र ट्रंकलाइन महसुल विवादका सम्बन्धमा नेपाल विद्युत् प्राधिकरणले गरेको निर्णयलाई नै सदर गरेको छ । दुई उद्योगको उजुरीमाथि सुनुवाइ गर्दै आयोगले प्राधिकरणको बक्यौता उठाउने निर्णय सही ठहर गर्दै अन्तरिम आदेश दिन अस्वीकार गरेको हो ।

आयोगले पञ्चकन्या प्लास्टिक इन्डस्ट्रिज प्रालि र पञ्चकन्या स्टिलको उजुरीमाथि सुनवाइ गरेको हो । ती उद्योगले प्राधिकरणबाट लिएको डेडिकेटेड र ट्रंकलाइनबाट विद्युत्को महसुल तिर्न लामो समयदेखि अटेर गर्दै आएका थिए ।

प्राधिकरणले पछिल्लोपटक २१ दिनको समय दिएर यही कात्तिक ४ र ५ गते ती उद्योगको लाइन काटेको थियो । प्राधिकरणले तय गरेको पहिलो किस्ताबापतको महसुल बुझाउँदै आयोगमा आवेदन दिइएको थियो ।

ती दुई उद्योगको आवेदनमाथि आयोगका अध्यक्ष डा. रामप्रसाद धिताल र अरू चार सदस्यको इजलासमा बहस भएको आयोगले जनाएको छ ।

प्राधिकरणका तर्फबाट राजकुमार पोखरेल, रमेशकुमार घिमिरे र तुलाराम गिरीले बहस गरेका थिए । उद्योगीका तर्फबाट रोजन खड्काले बहस गरेका आयोगले जनाएको छ ।