रूसलाई युक्रेनविरूद्ध लड्न भारतले आर्थिक सहायता गरेको आरोप

रूसलाई युक्रेनविरूद्ध लड्न भारतले आर्थिक सहायता गरेको आरोप

ह्वाइट हाउसका एक जना उच्च अधिकारीले भारतले रूसलाई युक्रेनविरूद्ध लड्न आर्थिक सहायता गरेको आरोप लगाएका छन्।

ट्रम्पका अत्यन्त निकट रहेका ह्वाइट हाउसका कर्मचारी प्रशासनका उपप्रमुख स्टिफन मिलरले एक टेलिभिजन अन्तर्वार्तामा भारतले रूसबाट तेल खरिद गरेर ऊसलाई युक्रेनविरूद्ध लड्न आर्थिक सहायता प्रदान गरेको आरोप लगाएका हुन्।

राष्ट्रपति डोनाल्ड ट्रम्पको बुझाइ पनि भारतले रूसलाई युद्धमा सहायता गर्‍यो भन्ने नै रहेको मिलरले बताएका छन्।

'भारतले तेल किनेर रूसलाई युद्धमा सहायता गरेको विषय स्वीकार्य हुँदैन भनेर उहाँ (ट्रम्प)ले प्रष्ट भन्नुभएको छ,' मिलरले टेलिभिजन अन्तर्वार्तामा भनेका छन्।

ट्रम्पको धम्कीका बाबजुद पनि भारतले रूसबाट तेल खरिद नरोक्ने भनेको थियो।

ट्रम्पले युक्रेनमा युद्धविराम गर्नका लागि दबाब दिन रूसी तेल खरिद गर्ने देशहरूमाथि पनि भन्सार दर बढाउने चेतावनी दिएका थिए।

 अरू देशहरूले पनि रूसबाट तेल नकिनुन् जसकारण रूसले युद्धमा धेरै पैसा खर्च गर्न नसकेर युद्धविरामका लागि सहमत होस् भन्ने ट्रम्पको रणनीति हो।

तर भारतले ट्रम्पको दबाबका बाबजुद पनि तेल खरिद नरोक्ने बताइसकेको छ।