रास्वपामा किन उठ्यो प्राइमरी इलेक्सनको धज्जी उडाइएको प्रश्न
उम्मेदवार छनोटका लागि गरिएको ‘प्राइमरी इलेक्सन’ हुबहु कार्यान्वय नहुँदा राष्ट्रिय स्वतन्त्रता पार्टी (रास्वपा) कै कतिपय नेताहरूले असन्तुष्टि जनाएका छन् । गत कात्तिकमा चितवनमा बसेको केन्द्रीय समितिको विस्तारित बैठकले उम्मेदवार छनोट सम्बन्धी पाँच बुँदे मापदण्ड तय गरेको थियो । जसअनुसार फाराम भरेका ४१४ आकांक्षी मध्ये ३८७ बीच मतदान भयो ।
तर निर्वाचन आयोगमा बन्दसूची पेश गर्दा ‘प्राइमरी इलेक्सन’ मा प्राप्त मतभारलाई बेवास्ता गरियो । रास्वपा नेतृ डा. तोसिमा कार्कीले बन्दसूची बुझाउँदा ‘प्राइमरी इलेक्सन’कै धज्जी उडाएको बताएकी छन् ।
२०७९ सालको प्रतिनिधि सभा चुनावमा ललितपुर–३ बाट निर्वाचित डा. कार्कीले महत्त्वपूर्ण पदमा बसेका नेताहरूले प्रत्यक्षबाट चुनाव लड्ने आँट गर्नुपर्नेमा जोड दिएकी छन् । ‘त्यो पार्टीभित्र पनि पदमा बस्ने अनि निर्वाचनमा पनि समानुपातिक सूचीमा ! त्यो पनि प्राईमरी भोटिङकै धज्जी उडाउँदै अग्रपंक्तिमा नाम सुरक्षित गरिने यो प्रवृत्ति पुराना दलभन्दा धेरै फरक देखिएन,’ कार्कीले फेसबुकमा लेखेकी छन् ।
खसआर्य पुरुष, खस आर्य महिला, आदिवासी जनजाति पुरुष, आदिवासी जनजाति महिला, मधेशी महिला, मधेशी पुरुष, थारु पुरुष, दलित पुरुष र दलित महिला ‘क्लस्टर’मा बन्दसूची पठाउँदा प्राइमरी इलेक्सनलाई बेवास्ता गरिएपछि विरोध भएको हो ।
थर्ड पोल 