अफगानिस्तानमा मध्यरातमा ६.३ म्याग्निच्युडको शक्तिशाली भूकम्प

अफगानिस्तानमा मध्यरातमा ६.३ म्याग्निच्युडको शक्तिशाली भूकम्प

अफगानिस्तानमा शक्तिशाली भूकम्प गएको छ।

सोमबार स्थानीय समयअनुसार मध्यराति १ बजे उत्तरी अफगानिस्तानको प्रमुख सहर मजार–ए–शरीफ नजिक ६.३ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको हो।

अमेरिकी भू–वैज्ञानिक सर्वेक्षण (युएसजिएस) का अनुसार भूकम्पको केन्द्र बाल्ख प्रान्तको खुल्म सहर नजिक करिब २८ किलोमिटर गहिराइमा थियो।

अफगान अधिकारीका अनुसार प्रारम्भिक विवरणमा कम्तीमा चार जनाको मृत्यु भएको छ।

बाल्खका गर्भनरका प्रवक्ता हाजी ज़ैदले भने, 'हामीले ठूलो आर्थिक र जनधनको क्षति भोगेका छौं। धेरै मानिस घाइते भएका छन्, र हालसम्म चार जनाको मृत्यु पुष्टि भएको छ।'

अफगानिस्तान राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणले जारी गरेको विज्ञप्तिमा भनिएको छ, 'देशका धेरै प्रान्तहरू फेरि एक पटक शक्तिशाली भूकम्पबाट हल्लिएका छन्।'

भूकम्पको कम्पन छिमेकी ताजिकिस्तान, उज्बेकिस्तान र तुर्कमेनिस्तानसम्म महसुस गरिएको अमेरिकी भूगर्भ सर्वेक्षणले जनाएको छ।

मजार–ए–शरीफको ऐतिहासिक ब्लू मस्जिदमा समेत ठूलो क्षति पुगेको बताइएको छ।

सामाजिक सञ्जालमा आएका भिडियोहरूमा मस्जिदको आँगनमा ढुंगामाटो र भग्नावशेषहरू देखिएका छन्।