अशान्तिपछि गएको चिनियाँ कम्पनी नेपाल फर्कियो, मासु प्रशोधनमा २० अर्ब बढी लगानी ल्याउन सुरू
भदौ २४ को तोडफोड, आगजनी तथा लुटपाटका कारण माहोल अशान्त बनेपछि आफ्नो देश फर्किएका चिनियाँ छेन्दु जियान फुड कम्पनीका प्रतिनिधिहरू नेपाल फर्किएका छन्।
यो कम्पनीले नेपालको मासु प्रशोधन क्षेत्रमा अहिलेसम्मको सर्वाधिक लगानी गर्ने गरी उद्योग विभागबाट स्वीकृति लिएर काम सुरु गरेको थियो।
उद्योग विभागले गत साउन ८ गते नै २० अर्ब रूपैयाँको प्रत्यक्ष वैदेशिक लगानीका लागि यो कम्पनीलाई स्वीकृति दिएको थियो। गत बिहीबार ७ जना प्रतिनिधि नेपाल आएका छन्। उनीहरूले शुक्रबार नै प्रधानमन्त्री सुशिला कार्कीलाई भेट्ने समय माग गरेका थिए।
प्रधानमन्त्रीसँग भेटैसँगै फिल्डमा पुग्ने कार्यतालिका रहेको छ। जियान कम्पनीबाट नै थप ५ जना मंगलबार नेपाल आउने तालिका छ।
नेपालमा मासु प्रशोधन गर्ने, चीनमा निर्यात गर्ने र प्रशोधनका लागि पशुपालनदेखिकै चक्र चलाउने योजनामा यो कम्पनी थियो। सोही अनुसार नेपालमा हिमालय फुड इन्टरनेशनलसँग साझेदारी गरेर यो कम्पनीले काम सुरु गरेको थियो।
हिमालय फुड इन्टरनेशनलका प्रतिनिधिका अनुसार भदौ २४ अघि यो कम्पनीले ३५ करोड बढी रकम भित्र्याइसकेको थियो। तर, भदौ २४ को आन्दोलनपछि चीन फर्किएका प्रतिनिधि कतै नफर्कने अवस्थासम्म पुगेका थिए।
थर्ड पोल 