एक हप्ताका लागि रोकियो मनाङ पदयात्रा, अन्नपूर्ण आधार शिविरबाट फर्कन थाले पर्यटक

एक हप्ताका लागि रोकियो मनाङ पदयात्रा, अन्नपूर्ण आधार शिविरबाट फर्कन थाले पर्यटक

जिल्ला प्रशासन कार्यालय मनाङले एक हप्ताका लागि अन्नपूर्ण पदमार्गको पदयात्रामा रोक लगाएको छ । हिमपात रोकिए पनि हिमपहिरो आउन सक्ने जोखिम रहेकाले एक हप्तासम्म पदयात्रामा नजान प्रशासनले पदयात्रीलाई आग्रह गरेको हो ।

हिउँले भरिएको सडक खुलाइएपछि अन्नपूर्ण संरक्षण क्षेत्रको पदयात्रामा गएका पर्यटकहरु फर्कन सहज भएको प्रमुख जिल्ला अधिकारी नवराज पौड्यालले जानकारी दिनुभयो । हिउँ र पानी पर्न बन्द भए पनि अहिले नै पदयात्रा सम्भव नरहेको उहाँको भनाइ छ । झन्डै १ हजार पाँच सय आन्तरिक तथा बाह्य पर्यटकको अस्ति मङ्गलवार उद्धार गरिएको थियो । त्यसमध्ये झन्डै दुई सय विदेशी पर्यटक थिए । हिमपातका कारण तिलिचो आधारशिविरमा रोकिएका झन्डै चार सय पर्यटक तिलिचो जान नसकेपछि फर्केका थिए । 

यसैबीच वर्षा र हिमपात रोकिएपछि अन्नपूर्ण आधार शिविर क्षेत्र देखि पर्यटक फर्कन थालेका छन् । गएको सोमवार रातिदेखिको वर्षा र हिमपातका कारण म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा पर्ने मौरिस हर्जोग पदमार्ग भएर आधार शिविर पदयात्रामा गएका पर्यटक बीच बाटोबाटै फर्कन थालेका हुन् । अन्नपूर्ण आधार शिविर घुम्न जानुभएकी म्याग्दीको रघुगङ्गा गाउँपालिका–१ बेगकी टीका पुर्जा पुनले हिउँ परेपछि मङ्गलवार दिनभर भुसकेतको आश्रयस्थलमा बसेको र हिजो बुधवार पञ्चकुण्ड तालसम्म पुगेर फर्किएको बताउनुभयो ।