ओली सर्वसम्मत अध्यक्ष हुनेमा कुनै शंका छैन : नेता अधिकारी
नेकपा (एमाले)का स्थायी कमिटी सदस्य खगराज अधिकारीले आउँदो महाधिवेशनबाट केपी शर्मा ओलीलाई पुनः पार्टी अध्यक्ष बनाउने विषयमा कुनै शंका नरहेको बताएका छन् ।
बिहीबार (कात्तिक २७) धनगढीमा प्रेस चौतारी नेपाल कैलालीले आयोजना गरेको पत्रकार सम्मेलनमा गण्डकी प्रदेशका पूर्वमुख्यमन्त्री समेत रहेका अधिकारीले ओली नै सर्वसम्मत अध्यक्ष बन्ने जिकिर गरे ।
उनले सर्वसम्मत अध्यक्ष नहुने अवस्थामा स्वस्थ प्रतिस्पर्धा हुने बताए । त्यसले पार्टीलाई कुनै नोक्सानी नहुने उनले उल्लेख गरे ।
“२०३६ सालदेखि अहिलेसम्म म एमालेको पूर्णकालीन कार्यकर्ता हो । कुनै पेसा, व्यवसायमा छैन,” उनले भने, “मेरो अनुभवले के बताउँछ भने नेकपा (एमाले)ले वर्तमान नेतृत्वलाई सर्वसम्मत रूपमा अध्यक्ष बनाउँछ । त्यसमा कुनै शंका छैन ।”
अधिकारीले अगाडि भने, “त्यसो भएन भने पनि हामी स्वस्थ प्रतिस्पर्धामै हुन्छौँ । त्यसले पार्टीलाई कुनै नोक्सान गर्दैन । सबैलाई आकलन गरेर वर्तमान नेतृत्वलाई निरन्तरता दिन्छ ।”
थर्ड पोल 