ओलीको सिफारिसमा प्रदेश प्रमुख बनेकी थिइन् झिसमिसेमै होटलमा मुख्यमन्त्रीको शपथ गराउने भण्डारी

ओलीको सिफारिसमा प्रदेश प्रमुख बनेकी थिइन् झिसमिसेमै होटलमा मुख्यमन्त्रीको शपथ गराउने भण्डारी

एमाले मधेस संसदीय दलका नेता सरोजकुमार यादवलाई होटलमै मुख्यमन्त्री नियुक्त गर्दै शपथसमेत गराएपछि अहिले प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारी चर्चामा छिन्।

संविधानको धारा १६८ (२) अनुसार सरकार गठनको निम्ति आह्वान गर्न भन्दै लोकतान्त्रिक समाजवादी पार्टी सहितका दलले धर्ना दिन थालेपछि त्यसलाई छल्न प्रदेश प्रमुख भण्डारी काठमाडौं जाने भन्दै जनकपुरबाट निस्किएकी थिइन्।

तर बर्दिबासको पानस होटल पुगेर उनले एमाले दल नेता सरोज यादवलाई मुख्यमन्त्री बनाएपछि आलोचना भइरहेको छ।

प्रदेश प्रमुख भण्डारीले आफूखुसी यादवलाई मुख्यमन्त्री नियुक्त गरेकी होइनन्। उनी एमाले अध्यक्ष केपी शर्मा ओलीको विश्वासपात्र पनि हुन्।

अध्यक्ष ओलीले नै संविधानको धारा १६८ (३) अनुसार यादवलाई ठूलो दलको हैसियतले मुख्यमन्त्री बनाउन प्रदेश प्रमुख भण्डारीलाई दबाब दिएका थिए।

त्यसको प्रतिवाद अहिले एमालेभित्रै भइरहेको छ। एमाले मधेस प्रदेशमा प्रमुख सचेतक हरिनारायण महतोले यसबाट दल र पार्टीकै बेइज्जत भएको बताएका छन्।

प्रदेश प्रमुख भण्डारीले होटलमा शपथ गराएपछि नेपाली कांग्रेस, नेपाली कम्युनिस्ट पार्टी, जनमत, नागरिक उन्मुक्ति लगायत दलले विरोध सुरू गरेका छन्। उनीहरूले मुख्यमन्त्री कार्यालय तोडफोड गर्नुका साथै कर्मचारी, प्रहरी समेतलाई हातपातको प्रयास गरेका थिए।