केपी ओली, सेनाका अधिकारीहरूले बयान नदिने भए जाँचबुझ आयोगले कसरी गर्छ काम?

केपी ओली, सेनाका अधिकारीहरूले बयान नदिने भए जाँचबुझ आयोगले कसरी गर्छ काम?

भदौ २३ र २४ को जेनजी आन्दोलनमा भएका घटनाक्रम छानबिन गर्न बनेको जाँचबुझ आयोग राजनीतिक, सरकारी तथा सुरक्षा निकायका प्रतिनिधिहरूसँग बयान लिने चरणमा प्रवेश गरेको छ।

घटना विवरण संकलनको काम पूरा गरेर बयानको चरणमा प्रवेश गरेको आयोगका लागि सबभन्दा महत्त्वपूर्ण कडी यही हो।

पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगका लागि यो चरण पार लगाउन दुईवटा महत्त्वपूर्ण चुनौती देखिएका छन् —

पहिलो, तत्कालीन प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको बयान।

र दोस्रो, सेनाका फिल्ड कमान्डर र उच्चपदस्थहरूको बयान।

सबभन्दा पहिला यी दुई बयान किन चुनौतीपूर्ण छन् भन्ने हेरौं।

जेनजी प्रतिनिधिहरूले भदौ २३ र २४ गते भएका घटनाको मुख्य जिम्मेवार ओली नै भएको दाबी गर्दै आएका छन्। त्यसले आयोगमाथि ओलीको बयान लिन ठूलो दबाब छ। तर पूर्वप्रधानमन्त्री ओलीले आयोगमा बयान दिन नजाने बताउँदै आएका छन्।