ट्रम्पको गुनासो- दोस्रो विश्वयुद्ध अन्त्यका लागि अमेरिकाको भूमिका बेइजिङ परेडमा देखाउनुपर्थ्यो

ट्रम्पको गुनासो- दोस्रो विश्वयुद्ध अन्त्यका लागि अमेरिकाको भूमिका बेइजिङ परेडमा देखाउनुपर्थ्यो

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दोस्रो विश्वयुद्ध अन्त्यका लागि अमेरिकाले खेलेको भूमिकालाई चीनले सोमबार गरेको सैन्य परेडमा नदेखाइएकोप्रति गुनासो गरेका छन्।

ह्वाइट हाउसको ओभल अफिसमा पत्रकारहरूसँगको कुराकानीमा ट्रम्पले दोस्रो विश्वयुद्धमा जापानलाई हराउन अमेरिकाले महत्त्वपूर्ण भूमिका खेलेको भए पनि चीनमा आयोजित समारोहमा त्यसबारे उल्लेख नै नभएकोमा गुनासो गरेका हुन्।

'मलाई त्यो समारोह सुन्दर र प्रभावशाली पनि लाग्यो। तर चीनलाई मद्दत गर्न अमेरिकाले ठूलो योगदान दिएको थियो। कम्तिमा राष्ट्रपतिको भाषणमा त्यसको उल्लेख हुनुपर्थ्यो,' ट्रम्पले भने।

चिनियाँ दूतावासले यसबारे कुनै प्रतिक्रिया दिएको छैन।

दोस्रो विश्वयुद्ध अन्त्य भएको ८० वर्ष पुगेको उपलक्ष्यमा चीनले सोमबार भव्य सैन्य परेड आयोजना गरेको थियो। 

उक्त समारोहलाई राष्ट्रपति सी चीनफिङले भने चीनको शक्ति र   वाशिङ्टनसँग असहमति राख्ने मुलुकहरूसँगको निकट सम्बन्ध देखाउने अवसरका रूपमा प्रयोग गरे।