त्रिशुली ट्याक्सी दुर्घटनाः छोराको अन्तेष्टि गरेर फर्किएकी थिइन हरिमाया

 त्रिशुली ट्याक्सी दुर्घटनाः छोराको अन्तेष्टि गरेर फर्किएकी थिइन हरिमाया


काठमाडौं । आज बिहानमा यात्रुवाहक ट्याक्सी त्रिशुलीमा खसेर दुर्घटना हुँदा मृत्यु भएका पाँचै जनाको परिचय खुलेको छ । दुर्घटनामा पर्नेमा गोरखाको रोका परिवार र उनका आफन्त रहेका छन् ।

काठमाडौंबाट गोरखा जाँदै गरेको बा२ज ४१९६ नम्बरको ट्याक्सी बिहान सवा ७ बजे चितवनको इच्छाकामना गाउँपालिका–५ सिमलधारास्थित पृथ्वी राजमार्गबाट त्रिशुली नदीमा खसेको थियो । जिल्ला प्रहरी कार्यालय चितवनले ट्याक्सीमा चालकसहित ६ जना सवार रहेकोमा दुर्घटनामा पाँच जनाको मृत्यु भएको र एक जना बेपत्ता रहेकाले खोजी कार्य जारी रहेको जनाएको छ । 

मृत्यु हुनेमा ७० वर्षीय जुनमाया रोका, उनकी जेठी छोरी हरिमाया रोका-उपरकोटी-,हरिमायाको छोरा आगमन उपरकोटी, जुनमायाको कान्छी छोरी अन्जना रोका, माइला ज्वाई ट्याक्सी चालक गोरखा नगरपालिका–७ का ३५ वर्षीय अर्जुन शिर्मल रहेका छन् । हरिमायाका नाती दिवस रोका भने बेपत्ता छन् । गोरखा नगरपालिका ७ का वडाअध्यक्ष विष्णुप्रसाद श्रेष्ठका अनुसार मृतक एकै परिवारका आफन्त हुन । उनीहरु जुनमाया रोकाका छोरा ३९ वर्षीय शंकर रोकाको शुक्रबार राती पशुपतिमा अन्त्यष्टि गरेर शनिबार बिहान घर फर्कर्ने क्रममा दुर्घटनामा परेका हुन् । 

मृतक रोका परिवार र आफन्त शंकरको अन्तिम संस्कार सकेर माइक्रो र ट्याक्सीमा शनिबार घर फर्किँदै थिए । शंकरको श्रीमती भने अर्कै गाडीमा बसेकाले दुर्घटनाबाट जोगिएको श्रेष्ठले जानकारी दिए । दुर्घटना भएको थाहा पाउनासाथ आफू दुर्घटना स्थालमा पुगेको बताएका वडाअध्यक्ष श्रेष्ठले मृतक परिवार रोकाया नभएर रोका भएको पुष्टि गरेका छन् । सञ्चारमाध्यममा मृतकको रोका परिवारको (रोकाया) भनेर सूचना संप्रेषण भएको थियो ।