देउवा सिंगापुरबाट फर्केको भोलिपल्टै बानेश्वरमा '६ भाइ' को सामूहिक भेला, दुई महामन्त्रीलाई काउन्टर

देउवा सिंगापुरबाट फर्केको भोलिपल्टै बानेश्वरमा '६ भाइ' को सामूहिक भेला, दुई महामन्त्रीलाई काउन्टर

नेपाली कांग्रेसभित्र संस्थापन र इतर पक्ष सहमतिबाट झन् झन् टाढा हुँदै गएको संकेत शनिबारको घटनाक्रमले देखाएको छ।

कार्यवाहक सभापति पूर्णबहादुर खड्काले सहमति जुटाउन शनिबार ललितपुरको कुपन्डोलस्थित एक होटलमा पदाधिकारी तथा पूर्वपदाधिकारीहरूसँग अनौपचारिक छलफल गरे। त्यसैबीच शनिबार नै नयाँबानेश्वरमा संस्थापन पक्षका नेताहरूको छुट्टै बैठक बस्यो।

बानेश्वर बैठकले 'चुनावअघि नियमित वा विशेष कुनै पनि महाधिवेशन गर्न नसकिने' निष्कर्ष निकालेको त्यहाँ सहभागी एक नेताले जानकारी दिए।

सभापति शेरबहादुर देउवा सिंगापुरबाट फर्केको दोस्रो दिन नै देउवा पक्षका '६ भाइ' पूर्वपदाधिकारीले बानेश्वरमा संस्थापन पक्षको सामूहिक भेला डाकेका हुन्। यसमा चुनावअघि महाधिवेशन माग गर्ने देउवा पक्षका २४ जना केन्द्रीय सदस्य उपस्थित थिएनन्।

बानेश्वर बैठकमा सहभागी नेताका अनुसार अहिलेलाई पार्टीको सम्पूर्ण शक्ति चुनावमा केन्द्रित गरेर त्यसपछि महाधिवेशन गर्ने गरी कार्यतालिका ल्याउनुपर्ने निष्कर्षमा संस्थापन पक्ष पुगेको छ।

यसबीच कार्यवाहक सभापति खड्काले देउवालाई भेटेर केन्द्रीय समितिमा उठेका विषयवस्तुबारे ब्रिफिङ गरिसकेको कांग्रेसका एक पदाधिकारीले जानकारी दिए। कार्यवाहक सभापति खड्का र प्रवक्ता प्रकाशशरण महत शुक्रबार बेलुकी देउवा दम्पतीलाई स्वागत गर्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पनि पुगेका थिए।