धरानमा कार्यपालिकाको अल्पमतबाट बजेट पारित घोषणा, बहुमत भएको एमालेको अस्वीकार
नयाँ आर्थिक वर्ष सुरू भएको डेढ महिना बितिसक्दासम्म पनि सुनसरीको धरान उपमहानगरपालिकाको बजेट विवादले निकास पाएको छैन।
पछिल्लो कार्यपालिका बैठकबाट बजेट अनुमोदन गरेर नगरसभामा पेस गर्ने योजनामा रहेको धरान उपमहानगरको शुक्रबारको बैठक नेकपा (एमाले) ले बहिष्कार गर्यो भने लगत्तै मेयर हर्क साम्पाङले बजेट कार्यपालिकाबाट पारित भएको घोषणा गरे।
धरानको कार्यपालिकामा बहुमत रहेको एमालेले बैठक बहिष्कार गरेपछि अल्पमत सदस्यको उपस्थितिमा बजेट पारित भएको घोषणा भएको हो।
बहुमत संख्या भएको एमालेको बहिष्कारका बीच कार्यपालिकाबाट बजेट अनुमोदन भएको हो भनेर हामीले उपमेयर अइन्द्र विक्रम बेघालाई सोधेका छौं।
जबाफमा उनले 'बजेट पारित भएको छ' भनेका छन्।
यसपछि फेरि उपमेयर बेघालाई हामीले अल्पमतले पारित गरेको बजेट सोझै नगर सभामा पेस गरिन्छ कि फेरि कार्यपालिका बैठक बस्छ भनेर सोध्यौं।
उनले भने, ‘बजेट निर्धारण समितिले बजेट पास गरेको हो। अब के गर्ने भन्ने सल्लाह हुँदैछ।’
थर्ड पोल 