नेपाल र भारतका विश्वविद्यालयका सयौं नक्कली शैक्षिक प्रमाणपत्रसहित एक जना पक्राउ
रूपन्देही प्रहरीले ठूलो मात्रामा नक्कली शैक्षिक प्रमाणपत्रसहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा भारतको कानपुर नौ वस्ति बस्ने २५ वर्षीय अभिषेक यादव छन्।
उनको साथबाट विभिन्न नेपाली तथा भारतीय विश्वविद्यालयका नक्कली कागजात र ती बनाउन प्रयोग हुने सामग्रीहरू बरामद गरिएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय रूपन्देहीका प्रवक्ता प्रहरी नायब उपरीक्षक सुरज कार्कीका अनुसार जिल्ला प्रहरी कार्यालय रूपन्देही र इलाका प्रहरी कार्यालय बेलहियाको संयुक्त टोलीले गोप्य सूचनाका आधारमा यादवलाई आइतबार साँझ पक्राउ गरेको हो।
सिद्धार्थनगर नगरपालिका वडा नम्बर १ स्थित बेलहिया बसपार्कमा रहेको होटेल मुक्तिनाथ परिसरबाट प्रहरीले उनलाई नियन्त्रणमा लिएको थियो। प्रहरीले यादवको शरीर र उनको सुटकेस खानतलासी गर्दा त्रिभुवन विश्वविद्यालयका १ सय वटा ट्रान्सक्रिप्ट र ३६ वटा खाली प्रमाणपत्रहरू फेला पारेको छ।
विभिन्न शैक्षिक संस्थाका ३ वटा नक्कली र ५ वटा स्ट्याम्प प्याड, त्रिभुवन विश्वविद्यालयको ४ हजार ४० थान रहेको २१ बन्डल होलो ग्राम, उच्च माध्यमिक शिक्षा परिषद्को २ हजार थान रहेको १९ प्याकेट, राष्ट्रिय परीक्षा बोर्डको १ हजार ७ सय थान रहेको १७ प्याकेट नक्कली होलो ग्राम र स्टिकरहरू बरामद गरिएको प्रहरी नायब उपरीक्षक कार्कीले जानकारी दिए।
थर्ड पोल 