प्रदेश प्रमुख बिहानै काठमाडौं हिँडे, बागमतीमा तीन मन्त्रीको शपथ स्थगित
बागमती प्रदेश सरकारमा नवनियुक्त तीन मन्त्रीको शपथ स्थगित भएको छ।
बुधबार मुख्यमन्त्री बहादुर सिं लामाले गोविन्द लम्साल, माया श्रेष्ठ र गीता गुरुङलाई मन्त्री नियुक्त गरेका थिए।
उनीहरुको शपथ बिहीबार दिउँसो १ बजे हुने तय थियो।
तर प्रदेश प्रमुख दीपक प्रसाद देवकोटा अस्वस्थ भइ उपचारका लागि काठमाडौं आएपछि नवनियुक्त मन्त्रीहरूको शपथ ग्रहण कार्यक्रम स्थगित भएको हो।
प्रदेश प्रमुखको कार्यालयकाका प्रवक्ता देवेन्द्र सापकोटाले विज्ञप्ती जारी गरी प्रदश प्रमुख देवकोटा स्वास्थ्यमा समस्या देखिएपछि उपचारका लागि बिहानै काठमाडौं गएकाले शपथ ग्रहण कार्यक्रम स्थगित भएको जानकारी दिएका छन्।
'बागमती प्रदेश सरकारका नवनियुक्त माननीय मन्त्रिज्यूहरुको सपथ ग्रहण समारोह मिति २०८२ श्रावण १५ गते बिहीवार दिनको ०१:०० बजेको लागि तोकिएकोमा माननीय प्रदेश प्रमुखज्यूको स्वास्थ्यमा अकस्मात समस्या आएकोले उपचारार्थ आज बिहानै काठमाडौं प्रस्थान गर्नु भएको हुँदा माननीय प्रदेश प्रमुखज्यूको निर्देशानुसार अर्को सूचना प्रकाशन नभएसम्मको लागि सपथ ग्रहण कार्यक्रम हाललाई स्थगन गरिएको व्यहोरा जानकारीको लागि अनुरोध छ,' विज्ञप्तीमा भनिएको छ।
बागमतीमा पाँच मन्त्रीले राजीनामा दिएपछि बुधबार मात्रै मुख्यमन्त्री लामाले लम्साल, श्रेष्ठ र गुरूङलाई मन्त्री नियुक्त गरेका थिए।
लम्साललाई आन्तरिक मामिला तथा कानुन मन्त्रालयको जिम्मेवारी दिइएको छ । श्रेष्ठ र गुरूङको भने जिम्मेवारी तोकिन बाँकी छ।
थर्ड पोल 