बागमतीमा राजीनामा दिएका चार मन्त्रीलाई मुख्यमन्त्रीले गरे बर्खास्त

बागमतीमा राजीनामा दिएका चार मन्त्रीलाई मुख्यमन्त्रीले गरे बर्खास्त

बागमती  प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले कांग्रेसकै चार मन्त्रीलाई बर्खास्त गरेका छन्।

आन्तरिक मामिला तथा कानुन मन्त्री सुरजचन्द्र लामिछाने, युवा तथा खेलकुद मन्त्री मीनकृष्ण महर्जन, पर्यटन मन्त्री विमल ठकुरी र सहकारी मन्त्री मधुकुमार श्रेष्ठलाई शुक्रबार बेलुकी मुख्यमन्त्री सिंहले बर्खास्त गरेका हुन्।

यी चारै मन्त्रीहरूले शुक्रबार दिउँसो नै राजीनामा बुझाएका थिए। उनीहरुले प्रत्यक्ष रूपमा मुख्यमन्त्रीसँग भेट नभएपछि ह्वाट्सएपमार्फत राजीनामा बुझाएको र मुख्यमन्त्रीलाई फोन गरेर जानकारी समेत गराएको दाबी गरेका थिए।

मुख्यमन्त्री लामाले शुक्रबार बेलुका नै ती मन्त्रीहरूलाई बर्खास्त गरिएको पत्र प्रदेश प्रमुखको कार्यालयमा पठाइसकेको कांग्रेसको बागमती प्रदेश दल उपनेता रामकृष्ण चित्रकारले जानकारी दिए।

‘बाहिर राजीनामा दिएको भनेर आए पनि मुख्यमन्त्रीसम्म राजीनामा पत्र पुगेको थिएन। मुख्यमन्त्रीविरूद्ध अविश्वास प्रस्तावबारे उहाँहरूले पनि हस्ताक्षर गरेको भन्ने पत्र भने मुख्यमन्त्रीसम्म पुगेको थियो। त्यसपछि अनुशासनको कारबाही स्वरूप उहाँहरूलाई बर्खास्त गरिएको भन्ने बुझिएको छ,’ चित्रकारले भने।