बैतडीको डोल गाउँमा २०१८ सालदेखि खसिरहेछ पहिरो
हरेक वर्षातमा झैँ यहाँको दोगडाकेदार गाउँपालिका–६ डोलबासी यसपाली पनि पहिरोकै चिन्तामा छन्। २०१८ साल देखि खस्ने थालेको पहिरोले अहिलेसम्म गाउँलेलाई चैनले सुत्न दिएको छैन।
हरेक वर्ष वर्खामा खस्ने पहिरोले यो वर्ष पनि चिन्ता बढेको स्थानीय लोगसिंह भाटले बताए।
‘वर्षात सुरु भएदेखि राति निदाउनसमेत डर लाग्ने गरेको छ,’ उनले भने, ‘पहिरोले चारैतिर जमिन बगाइसकेको छ। बस्ती जोखिममा छ। अन्त सरौं भने आर्थिक अवस्था पनि कमजोर छ। जोखिम मोलेर बसिरहेका छौं।’
यहाँका धेरैले बसाइसराइ सरिसकेका छन्। पहिरोले घर तथा जमिन बगाएपछि अधिकांश बसाइ सरेका स्थानीय रामदत्त जोशीले बताए।
आर्थिक अवस्था कमजोर भएका २० परिवार मात्रै अहिले यहाँ बसोबास गर्छन्।
स्थानीय भोजराज जोशीले भने, ‘२०१८ साल कै पहिराले हाम्रो गाउँका हरेक घर बांगा छन्। भित्रभित्रै जमिन भासिएपछि घरहरू बांग भएका हुन्। पहिरोको जोखिममै बस्नु परिरहेको छ।’
डोल पहिरोले हालसम्म नौ जनाको ज्यान लिइसकेको छभने दुई सय बढी रोपनी खेतीयोग्य जमिन बगाइसकेको छ।
थर्ड पोल 