बौद्धमा युवकमाथि खुकुरी प्रहार घटना : बाबुलाई हानेको बदला लिन मार्ने योजनाले आक्रमण

बौद्धमा युवकमाथि खुकुरी प्रहार घटना : बाबुलाई हानेको बदला लिन मार्ने योजनाले आक्रमण

 गत १२ साउनको राति साढे ९ बजेतिर बौद्धको बाहुनाधारामा जीतबहादुर मोक्तानमाथि अन्धाधुन्ध खुकुरी प्रहार भयो । काभ्रेको रोशी गाउँपालिका-१० घर भएका उनी बौद्धमा बस्दै आएका थिए ।

त्यस राति नयाँ बस्तीको डी क्याफेमा खाजा खाएर उनी बाहिर निस्किए । मोटरसाइकलमा चढेर घर जाँदै थिए । त्यही बेला उनीमाथि अन्धाधुन्ध खुकुरी प्रहार भयो । उनी मोटरसाइकलबाट झरेर भाग्न थाले । तर, त्यो समूहले लखेट्दै उनीमाथि खुकुरी प्रहार गर्‍यो ।

करिब चार जनाको समूहले मोक्तानको पेट, ढाड र हातलगायतका ठाउँमा खुकरी प्रहार गर्‍यो । खुकुरी प्रहारबाट उनी ढलेपछि उक्त समूह त्यहाँबाट फरार भयो ।

स्थानीयले उनलाई उद्धार गरेर उपचारका लागि अत्तरखेलस्थित नेपाल मेडिकल कलेज पुर्‍याए । त्यहाँबाट त्रिवि शिक्षण अस्पतालमा रेफर गरियो । शिक्षण अस्पतालबाट फेरि उनलाई ग्वार्कोस्थित बी एण्ड बी अस्पताल लगियो ।