भदौ २३ गतेको जेनजी आन्दोलनः अझै कति जनाको भइरहेको छ उपचार ?
काठमाडौं । भदौ २३ गते भएको जेनजी आन्दोलनको क्रममा घाइते भएका ३० जना अझै उपचाररत छन्। त्यस दिन संसद भवन अगाडि पुगेका प्रदर्शनकारीमाथि सुरक्षाकर्मीले गोली चलाएका थिए। अन्य ठाउँमा पनि रबर र धातुको गोली, अश्रुग्यास, पानीको फोहरा र लाठीचार्ज समेत गरिएको थियो।
स्वास्थ्य मन्त्रालयका अनुसार, त्यस दिन देशभर २ हजार ३१६ जना घाइते भएका थिए। तीमध्ये ३० जना घाइते अझै उपचाररत छन्। असोज २१ सम्म देशभरका विभिन्न अस्पतालमा ३० जना घाइते जेनजी को उपचार भइरहेको छ। तीमध्ये पनि ३ जनाको अवस्था गम्भीर रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले जानकारी दिए।
तीमध्ये धेरै घाइतेहरूको उपचार भएको उपत्यकाका तीनवटा अस्पतालमा अझै कति जनाको उपचार भइरहेको छ भनेर हामीले सिभिल अस्पताल, त्रिवि शिक्षण अस्पताल र ट्रमा सेन्टरका अधिकारीसँग कुराकानी गरेका छौं।
त्यस्तै आन्दोलन क्रममा सबैभन्दा बढी घाइते पुर्याइएको सिभिल अस्पतालमा एक जनाको मात्रै उपचार भइरहेको छ। भिल अस्पतालका मेडिकल डिभिजन प्रमुख डा। दीपक पौडेलका अनुसार कालिकोट घर भएका २२ वर्षीय धर्मेन्द्र शाही उपचाररत छन्।
सिभिल अस्पतालमा ४६० जना घाइतेलाई उपचारका लागि पुर्याइएको थियो। तीमध्ये ६ जनाको मृत्यु भएको थियो। ३३६ जनाको सामान्य उपचारपछि डिस्चार्ज भएका थिए भने ५० जनालाई भर्ना गरेरै उपचार गर्नुपरेको डा. पौडेलले जानकारी दिए।
त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगंजमा अझै ५ जना घाइतेको उपचार भइरहेको अस्पतालका व्यवस्थापन अधिकृत सागर पौडेलले जानकारी दिए। पौडेलका अनुसार, २४ वर्षीय एमडी सलाउद्दिन, २५ वर्षीय सञ्जय घिसिङ, २७ वर्षीय विशाल बजगाईं, २९ वर्षीय विक्रम लमकहा, र १८ वर्षीय सुनिल थापाको उपचार भइरहेको छ।उनीहरू सबैको अवस्था सामान्य छ।
जेनजी आन्दोलनको क्रममा घाइते भएका १०७ जनालाई त्रिवि शिक्षण अस्पताल पुर्याइएको थियो। त्यसमध्ये २३ वर्षीय रसिक खतिवडाको मृत्यु भएको थियो।
घाइतेमध्ये ४१ जनालाई भर्ना गरेर उपचार गरिएको थियो। ३६ जना डिस्चार्ज भइसकेका छन्। पौडेलका अनुसार, घाइतेमध्ये २२ जनाको शल्यक्रिया गरिएको थियो। उपचाररत रहेका ६ बिरामीलाई भने अस्पतालले मनमोहन मेमोरियल अस्पताल रेफर गरेको थियो।
त्यस्तै, ट्रमा सेन्टरमा ११ जना जेनजी आन्दोलनमा घाइते भएका बिरामीको उपचार भइरहेको छ। आन्दोलनको क्रममा १९२ जना घाइतेहरूलाई उपचारका लागि ल्याइएको थियो। त्यसमध्ये ११ जनाको अहिले पनि उपचार भइरहेको ट्रमा सेन्टरका प्रमुख डा. बद्री रिजालले जानकारी दिए। जेनजी प्रदर्शन क्रममा घाइते भई उपचारका लागि पुर्याइएकामध्ये ८ जनाको ट्रमा सेन्टरमा मृत्यु भएको थियो।
थर्ड पोल 