भारत र अमेरिकाको मित्रतामा किन गहिरिँदैछ तिक्तता?
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले फेरि एक पटक भारतीय उत्पादनमा लगाइने भन्सार महसुल धेरै मात्राले बढाउने धम्की दिएका छन्।
गत बुधबार उनले भारतबाट आयात हुने सबै सामानमा २५ प्रतिशत भन्सार शुल्क लगाउने घोषणा गरेका थिए। सोमबार आफ्नो सामाजिक सञ्जाल ट्रुथ सोसलमा पोस्ट गर्दै उनले भारतले कच्चा रूसी तेल किनेका कारण झन् धेरै महसुल बढाउने धम्की दिएका छन्।
रूसले युक्रेनमा कति मान्छेको हत्या गरिरहेको छ भन्ने पर्वाह नगरी भारतले ठूलो मात्रामा तेल किनिरहेको भन्दै उनले भन्सार महसुल धेरै बढाउने बताएका हुन्।
पछिल्ला केही महिनामा ट्रम्पले भारतलाई अप्ठ्यारो पार्ने धेरै अभिव्यक्ति दिएका छन्। भारतले खासै प्रतिक्रिया जनाएको थिएन। यस पटक भने भारतको विदेश मन्त्रालयले विज्ञप्ति निकाल्दै रूसी तेल किनेकामा निशाना साध्नु अनुचित र अविवेकी भएको बताएको छ।
अमेरिका र युरोपियन युनियनले पनि रूसबाट तेल, ग्यासका साथै दुर्लभ खनिज, मल, फलाम, स्टिल लगायत सामान किनेको भन्दै भारतले उनीहरूको दोहोरो चरित्र औंल्याएको छ। अरू प्रमुख देशले जस्तै भारतले पनि आफ्नो राष्ट्रिय स्वार्थ र आर्थिक सुरक्षाको बचाउ गर्न आवश्यक सबै उपाय अवलम्बन गर्ने पनि बताएको छ।
यो विज्ञप्तिले भारतले ट्रम्पको धम्कीसामु आफू नझुक्ने सन्देश दिन खोजेको देखिन्छ।
थर्ड पोल 