भ्रष्टाचार र ठगीका ठुला आरोपहरू बोकेका नेताहरू सुशासन, सदाचार र स्वच्छ राजनीतिको भाषण दिन थाले : चालिसे

भ्रष्टाचार र ठगीका ठुला आरोपहरू बोकेका नेताहरू सुशासन, सदाचार र स्वच्छ राजनीतिको भाषण दिन थाले : चालिसे

नेपाली कांग्रेसका प्रवक्ता देवराज चालिसेले भ्रष्टाचार र ठगीका ठुला आरोपहरू बोकेका नेताहरूले समेत सुशासन, सदाचार र स्वच्छ राजनीतिको भाषण दिन थालेकोमा आश्चर्य व्यक्त गरेका छन् ।

 सामाजिक सञ्जालमा प्रवक्ता चालिसेले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको भनाइलाई इङ्कित गर्दै नेपालको राजनीतिमा क्यामोफ्लाजको प्रयोग भइरहेको उल्लेख गरेका छन् । 'यो त दिउँसै रात पार्न खोज्नु जस्तै हो। जनतालाई झुक्याएर आफ्नो स्वार्थ पूरा गर्ने प्रवृत्ति हावी भएको छ । नेपालको राजनीतिमा क्यामोफ्लाजको प्रयोगले जनताको विश्वासमाथि ठुलो खेलबाड भइरहेको छ भने देशको भविष्य अनिश्चितताको अँध्यारोमा धकेलिएको छ,’ चालिसेले लेखेका छन् ।

 चालिसेले राजनीतिक दल र नेताहरूले जनतासामु आफ्नो वास्तविक स्वार्थ, उद्देश्य, चरित्र र गतिविधि लुकाएर आकर्षक र राम्रो अनुहार देखाउने चतुर रणनीति अपनाएको बताएका छन्।

‘राजनीतिमा क्यामोफ्लाज भनेको सैनिक क्षेत्रमा प्रयोग हुने छलावरण जस्तै हो। जङ्गलमा हरियो पोसाक लगाएर शत्रुको दृष्टिबाट पूरै लुक्ने। त्यसैगरी राजनीतिमा पनि आफ्नो असली मुहार लुकाएर अर्कै रङ पोत्ने गरिन्छ,’ प्रवक्ता चालिसेले भने, ‘दुर्भाग्यवश, नेपालको पछिल्लो राजनीतिक दृश्यमा केही पार्टी र तिनका केही नेताहरू यस कलामा अत्यन्त निपुण र पोख्त देखिन्छन्।’