मेडिकल कलेजको सिट बढ्यो, एमबीबीएसमा १३० र बीडीएसमा ६० सम्म तोकियो

मेडिकल कलेजको सिट बढ्यो, एमबीबीएसमा १३० र बीडीएसमा ६० सम्म तोकियो

 चिकित्सा शिक्षा आयोगले एमबीबीएस र बीडीएस अध्ययनका लागि सिट संख्या बढाउने निर्णय गरेको छ । बिहीबार सिंहदरबारमा बसेको आयोगको बैठकले यसअघि तोकिएको सिट संख्यामा वृद्धि गर्ने निर्णय गरेको हो ।

जसअनुसार हालसम्म एक सय सिट रहेको एमबीबीएसको सिलिङ बढाएर एक सय ३० र ५० सिट रहेको बीडीएसलाई ६० पुर्‍याउने निर्णय भएको छ ।

बैठकमा सहभागी एक सदस्यले अनलाइनखबरलाई दिएको जानकारी अनुसार, मेडिकल कलेजहरूको पूर्वाधार, फ्याकल्टीसहितका मापदण्ड हेरी एमबीबीएसमा बढीमा १३० र बीडीएसमा ६० सिट दिने निर्णय भएको हो ।

‘मापदण्ड पूरा गरेका कलेजका हकमा मापदण्डअनुसार नै सिट संख्या तोकिने निर्णय भएको छ,’ ती सदस्यले भने ।